विराटनगर । विराटनगर महानगरपालिका–१२ रोडशेष स्थित कोशी लोकमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा.प्रदेश ०१–०३१ च १२२३ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र .१–०४–००२ प १५९३ नम्बरको १६० सिसी बजाज मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१२ बस्ने २७ वर्षीय असुनी कुमार ठाकुर घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार चालककी आमा ५० वर्षीया निभा ठाकुरको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको सामान्य अवस्थामा रहेको बताइएको छ । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको कार र मोटरसाइकल वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेको छ । कार चालक भने दुर्घटनापछि फरार रहेको र प्रहरीले खोजतलास कार्य जारी राखेको जनाएको छ ।