विराटनगर । भारतको जोगवनी–रानी सीमासँग जोडिएका होटल तथा व्यापारीक प्रायोजनको लागि घरका पर्खालमा बनाइएका ढोकाहरुको मोरङ प्रशासनले पुनः अनुगमन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा शुक्रबार साँझ सीमा क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । यसअघि प्रशासनले सीमावर्ती क्षेत्रमा रहेका होटलका पर्खालमा बनाइएका ढोकाबाट रातिको समयमा अवैध रुपमा भारतबाट सामान ओसारपसार हुने गरेको सूचना पाएपछि ती ढोका बन्द गर्न निर्देशन दिएको थियो ।

प्रशासनले झण्डै एक दर्जनभन्दा बढी होटल तथा व्यवसायिक भवनका पर्खालमा बनाइएका ढोकामार्फत रातिको समयमा चोरी पैठारी तथा अवैध कारोबार हुने गरेको पाइएपछि निगरानी बढाइएको हो ।

प्रशासनको निर्देशनपछि स्थानीय व्यवसायीहरुले अधिकांश ढोका बन्द गरिसकेको अनुगमनका क्रममा पाइएको छ । अनुगमनमा सहभागी टोलीले केही स्थानमा पुनः निगरानी बढाइने जनाएको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी कट्टेलले अवैध कारोबार नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थानीय व्यवसायीहरुले प्रशासनको आग्रहलाई सकारात्मक रुपमा लिएर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले कानुनको पालना गर्नुभएको रहेछ, यसले खुशी लागेको छ । अवैध गतिविधि नियन्त्रण गर्न प्रशासन अझै कडाइका साथ अघि बढ्छ ।”
