विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल बाहिरका औषधी पसलमा औषधि व्यवस्था विभाग (डीडीए) विराटनगरले आकस्मिक अनुगमन गरेको छ । विभागको टोलीले बुधबार कोसी अस्पताल बाहिरका फार्मेसीहरूमा अनुगमनका क्रममा कैफियत भेटिएका दुई औषधि पसल सिल गरिएको छ ।

अनुगमन टोली आएको थाहा पाएपछि अन्य आधा दर्जनभन्दा बढी फार्मेसी सञ्चालक पसलमा ताला लगाएर फरार भएका थिए । विभागका विराटनगरकी निमित्त प्रमुख सचिता वर्माको नेतृत्वमा खटिएको टोलीले अस्पतालको उत्तरपट्टि रहेको ‘गुरु मेडिकल हल’ बाट अनुगमन सुरु गरेको थियो । उक्त मेडिकल हलमा एउटै फर्मासिस्टले दुईतिर लाइसेन्स भाडामा लगाएको र म्याद गुज्रिएका औषधि समेत बिक्रीका लागि राखिएको पाइएपछि टोलीले पसल सिल गरेको छ । विभागका सूचना अधिकारी एवं फार्मेशी निरीक्षक दीपेन्द्र खड्काका अनुसार गुरु मेडिकल हलका फर्मासिस्ट सुरेन्द्र मण्डलले आफ्नो लाइसेन्स दुई ठाउँमा प्रयोग गरेको भेटिएको हो ।

उनी विराटनगर–१५ स्थित रानी अस्पतालको फार्मेसी र गुरु मेडिकल हल दुवै ठाउँमा कार्यरत रहेको पाइएको छ । ‘औषधि ऐनअनुसार एउटै व्यक्तिले दुईतिर लाइसेन्स भाडामा लगाउन पाइँदैन,’ खड्काले भने, ‘यसरी कानुन मिच्नेको लाइसेन्स ६ महिनासम्म निलम्बन गरी अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएका छौं ।’ यस्तै, अनुगमन टोली पुग्दा ‘न्यु अपेक्षा उपचार क्लिनिक’ का सञ्चालक फरार भएपछि उक्त पसल पनि सिल गरिएको छ । विभागले फोन गरेर बोलाउँदा समेत सञ्चालक नआएपछि बाध्य भएर सिलबन्दी गरिएको टोलीले जनाएको छ ।

अनुगमन टोली अस्पतालको दक्षिणतर्फ रहेको ‘विपश्यना फार्मेसी’ पुग्दा त्यहाँबाट पश्चिम कोइराला निवासतर्फ जाने बाटोमा रहेका आधा दर्जन फार्मेसीहरू सटर बन्द गरेर भागेका थिए । बुधबार बिहानसम्म खुलै रहेका ‘मुस्कान क्लिनिक’ लगायतका पसलहरू अनुगमनको सूचना पाएलगत्तै सञ्चालकले बन्द गरेर भागेका थिए । यी पसलहरुमा डिडिएले फेरी छड्के अनुगमन गर्ने भएको छ । व्यवसायीहरू पसलमा नबस्ने र औषधिको अनुचित बिक्री वितरण भइरहेको जनगुनासो आएपछि विभागले सक्रियता बढाएको हो ।