विराटनगरका नगर प्रहरी एक्शनमा, सुरुमा सचेत–अटेरीलाई कारबाही

<span class='c1'>विराटनगरका नगर प्रहरी एक्शनमा,</span> <span class='c2'>सुरुमा सचेत–अटेरीलाई कारबाही</span>

प्रेम देवान
विराटनगर । सार्वजनिक सडक, फुटपाथ तथा नालापेटी अतिक्रमण गरी सर्वसाधारणलाई सास्ती दिने गतिविधिविरुद्ध विराटनगर महानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा अभियानमा जुटेको छ । महानगरले सुरुआतमा सम्बन्धित व्यक्तिलाई सचेत गराउने र अटेरी गरे कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ ।


नगर प्रहरीको टोलीले पछिल्लो समय नगरभित्रका विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाएको छ । सडक तथा फुटपाथ ओगटेर व्यवसाय सञ्चालन गर्ने, सडक अवरुद्ध हुने गरी घर निर्माण सामग्री थुपार्ने तथा सार्वजनिक स्थानलाई निजी प्रयोजनमा प्रयोग गर्नेहरूलाई नियन्त्रणमा लिन अभियान सञ्चालन गरिएको हो।

यसैक्रममा विराटनगर–१३ स्थित रानी–जोगवनी सडकखण्डमा रहेको विराट ईभी चार्जिङ स्टेशनले सडकपेटी तथा सडकलाई असर पर्ने गरी सवारीसाधन चार्ज गराउँदै आएको गुनासो आएपछि नगर प्रहरी निरीक्षक राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ । उक्त स्थानमा चार्जिङका लागि राखिएका सवारीसाधनका कारण पैदलयात्री र अन्य सवारी आवागमनमा समस्या हुँदै आएको स्थानीयको गुनासो थियो। त्यसैगरी विराटनगर–८ मधुमारा स्थित बाँके–बर्दिया चोकमा घर निर्माणका लागि प्रयोग हुने गिटी, बालुवा र इँटा सडकमै थुपारेर आवागमनमा अवरोध गरिएको पाइएपछि महानगरको टोली अनुगमनमा पुगेको थियो। टोलीले सम्बन्धित घरधनीलाई तत्काल सामग्री हटाउन निर्देशन दिएको जनाएको छ। नगर प्रहरी निरीक्षक राजन पौडेलले बजार क्षेत्रका मुख्य फुटपाथहरू अतिक्रमणमुक्त गरिसकिएको र अब भित्री सडकहरूमा समेत निगरानी बढाइएको बताउनुभयो।


उहाँले भन्नुभयो, “हामीले सुरुमा सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई सम्झाउने र सचेत गराउने गरेका छौं। तर सार्वजनिक सडक, फुटपाथ र नालापेटी अतिक्रमण गर्ने कार्य दोहोरिएमा महानगरको नियमअनुसार कारबाही गर्छौं। पछिल्लो समय भित्री सडकहरूमा मकै सुकाउने, निर्माण सामग्री थुपार्ने तथा फुटपाथमा सामान राख्ने कार्यका कारण दुर्घटना र आवागमनमा समस्या बढेको भन्दै नागरिकबाट गुनासो आइरहेको छ। त्यसैले त्यस्ता स्थानमा पुगेर अनुगमन तथा सचेतनामूलक अभियान सञ्चालन गरेका छौं।” पौडेलका अनुसार वर्षायाममा नालापेटी तथा फुटपाथमा निर्माण सामग्री राख्ने प्रवृत्तिका कारण ढल तथा नाला अवरुद्ध हुने समस्या बढ्ने भएकाले त्यस्ता गतिविधि रोक्न महानगरले विशेष निगरानी गरिरहेको छ। उहाँले सार्वजनिक स्थानको संरक्षण र सुरक्षित आवागमन सुनिश्चित गर्न नगरवासीलाई सडक, फुटपाथ तथा नालापेटी अतिक्रमण नगर्न आग्रह गर्दै महानगरको अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्