विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ का गृहिणी तथा बेरोजगार महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले १० दिने बेहुलीको जुत्ता बनाउने तालिम सुरु गरिएको छ । भुजेल महिला समाज महानगर समिति को आयोजनामा तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा वडा नम्बर १६ का २० जना महिलाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष उद्धव भुजेलले सीपमूलक तालिमले घरमा बेरोजगार भएर बसेका महिलालाई आत्मनिर्भर बनाउँदै आयआर्जनको अवसर सिर्जना गर्ने बताउनुभयो। उहाँले वडा कार्यालयले विगतदेखि नै महिलाका लागि विभिन्न सीपमूलक तथा स्वरोजगारमुखी तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै धेरै महिलाले यस्ता तालिमबाट सीप हासिल गरी रोजगारी तथा साना व्यवसाय सञ्चालन गर्न सफल भएको जानकारी दिनुभयो।

“महिलालाई सीपसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउनु हाम्रो प्राथमिकता हो। बेहुलीको जुत्ता बनाउने तालिमबाट सहभागी महिलाले कम लगानीमा पनि आफ्नै व्यवसाय सुरु गर्न सक्नेछन्। वडाको तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौं,” वडा अध्यक्ष भुजेलले भन्नुभयो। तालिममा सहभागी महिलाहरूले पनि सीप सिकेर स्वरोजगार बन्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूका अनुसार बेहुलीको जुत्ता उत्पादन तथा बिक्री व्यवसाय थोरै लगानीबाट सञ्चालन गर्न सकिने भएकाले तालिम उपयोगी हुने विश्वास लिएका छन् ।

१० दिने तालिमको प्रशिक्षण धरानबाट आउनुभएकी प्रशिक्षक सावित्रा खतिवडाले प्रदान गरिरहनुभएको छ। तालिममा बेहुलीका विभिन्न डिजाइनका जुत्ता निर्माण, सजावट तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान दिइने जनाइएको छ। कार्यक्रमबारे जानकारी दिँदै समितिकी अध्यक्ष मेनुका भुजेलले वडा नम्बर १६ का २० जना महिलाको सहभागितामा तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार तालिमले महिलालाई सीपसँगै आत्मविश्वास र उद्यमशीलता विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।