तनाब छ (लघुकथा )

<span class='c1'>तनाब छ</span> <span class='c2'>(लघुकथा )</span>

“तनाब छ दाजु ।” मुखभरि पान भएको मुखले बनावटी बजारिया गुडिया जस्ता कुरा नगरी सहर्ष कृष्णले भने ।
“दाजुको घरको आँगनमा घोच्ने काँडाजस्तो दुःख दिने बस्तु त केही छैन । के भन्छौ ?” मैले उनलाई भित्र पस्न सहजताका लागि  काठको फलेक ढोका खोलिदिएँ । घत्र्याङ गऱ्यो ।
“ लु सुनाऊ खबर !” बाङ्गो काठे मुढामा बसाएर असजिलो अतिथि सत्कार पछिको मेरो आग्रह थियो ।
“के हुनु र मेरो दाजु, बिहानदेखि कालोमोसो खाएर काम गर्नुपर्छ । मेसिनसँग कुस्ती खेल्ने काम सधैँ छँदै छ ।” उनको सहज उत्तर थियो ।
“घर बनायौ?”
“छैन दाजु ।”
“व्यावसाय कस्तो चल्दै छ ?”
“धोका दिएको छैन ।”
“छोरी !”
थ्री कक्षामा छे, हुर्कंदै छे ।
“घामले डढाएछ कृष्णलाई, कपाल पनि झरेछ ।” उनी गोरो मान्छे तर घामको तेजलाई सहर्ष पचाएर खुइलिएका कालाकाला जस्ता देखिएका थिए ।
“व्यावहारले दाजु ।”
“ पैसा बँच्छ ?”
“ बँचाउँदै छु ।” उनको भावभङ्गीमामा जीवनको आशातीत सुधार देखिन्थ्यो ।
“आमामामामा एक गिलास दूध चिया !”
“खाऊ न ।”
उनी आफ्नो ठुलो साइकल लिएर गन्तव्यतिर लागे; अहिलेको समयका लागि राँगागाडी ।

३ वर्षपछि,

“दाजु तनाब छ । ।”
छक्क परेर बाटातिर हेरेँ । कालो चस्मा लगाएको गोरोगोरो मान्छे ! कृष्ण । चिनिहालेँ । फलामे जाली ढोका खोलिदिएँ ।
“दाजु तनाब छ ।” उनी कुर्सीमा शिशिर ऋतुको कठ्याङ्‌ग्रिदो शीत बनेर बसे ।
“केको तनाब ?” यो तनाब शब्दप्रतिको खुलदुलीले मलाई भौँतारिएर उडिरहेको गन्तव्यहिन हुन्डरी बनाउने जमर्को गरिरहेझैँ भयो ।
“व्यावहार ! के हुनु र !” उनको सहज प्रकटीकरणमा अमूर्त रहस्य थियो ।
“अब घर बनायौ, दोकान बढायौ, श्रीमती जागिरे । केको व्यावहार, तनाब ! साथमा छोराछोरी, सन्तान सुख । के चाहियो ?”
“रिन छ दाजु ।” उनको अनुहारमा निकै बादल लागि सकेको थियो । 
“रिन रे ! लागोस् तर दीन नलागोस् । छोरो मान्छेको रिन आँट र हिम्मतको पाखुरीमा हराउँछ छिनको छिन ।”
“अलिकति जमिन बेचूँ भनेर आएको थिएँ ।”
 काम गर्न पछाडि नसर्ने मान्छे आज कुन आकांक्षाको दरबार बनाउन भौतिक कुरूपतामा लज्जास्पद कुदिरहेछ ।
“अहिले किन्नेभन्दा बेच्ने धेरै छन् यद्यपि उपयुक्त दरदाममा किनबेच चलेकै छ ।”
उनले निधारमास्तिर भएको चस्मालाई दुबै आँखामा सारे - “ दाजु धेरै व्यस्त भइयो ।” यसो भन्दा उनको अनुहारभित्र टाढाटाढासम्म खोलाले बनाएको बगरलाई निर्निमेष हेर्नुको विकल्प मसँग थिएन ।
“राजनैतिक - सामाजिक, व्यावसायिक कामको जिम्मेवारी लिएपछि न दिन न रात भन्न पाइने । व्यस्त भएकै राम्रो ।” उनलाई व्यस्त बनाएका कार्यको सकारात्मक अहम् भाव जीवनमा ग्रहण गर्न उनले सकून् भन्ने अभिप्राय मेरो थियो ।
“ ल दाजु अहिले म निस्केँ । फोन बजेको अघिदेखि ।”
“ पानी त पिएर जाऊ ।”
“कति स्वादिलो पानी ।” उनले पिएको दुई गिलास पानी बालुवामा खन्याए जस्तो लाग्यो । अनुहारमा कूप बनेर जमेको निराश्यता थोपो कम भएन । तर मसँगको भेटघाटमा पानीसम्म पिएर निस्कने उनको अतिथि हुनुको सामिप्यता भाव अटल थियो ।

आपाचे घ्यार्र पारेर निस्के । मेरो मन एक तमासको भयो । खुलदुली बढ्यो ।

४ वर्षपछि,

“दाजु तनाब छ ।” पिच बाटामा इभि चारचक्के गाडी रोकेर उनी हतारिएर आफैँप्रतिको डरबाट भागेजस्तै गरी भित्र पसे ।
“दाजु म कहाँ जाऊँ, के गरुँ ? तनाब छ ।”
“के भन्छन् कृष्ण !”
“दाजु अप्ठ्यारो धेरै छ ।”
“विराटनगर जस्तो ठाउँमा ४ तला घर, त्यत्रो पसल, गाडी, सब थोक छ, तनाब किन कम भएन ?”
“भित्रै जाऔँ दाजु, बाहिर नबसौँ ।” उनी हडबडाए जसरी खहरे व्यथा लुकाएर हतार गर्छ समुन्द्र पुग्न ।
“किन ?”
“व्यावहारले ।” जिब्री फाटेर कल पेल्दा स्याइँस्याइँ गर्ने आवाज उनको छातीबाट निस्कदै थियो ।
“ढोका पनि लगाऊँ दाजु ।” आफ्नो स्वर अड्काउँदै सुकेको खोला जस्तो अनुहार पारेर मतिर हेरे ।
“ यहाँ गाउँघरमा तिम्सिना परिवारको एक्लो छोरो कृष्णले छोटो समयमा गरेको उन्नति प्रगतिको कत्रो गुणगान छ ।
के भो आज ?”
उनी केही बोलेनन् । उनलाई अझै ढुक्क भएन । उनी अझ भित्र पस्न खोज्दै थिए ।
“दाजु ट्वाइलेट कता छ ?”
इसारा गरेर देखाएपछि गए जसरी बगेको खोला फर्कँदैन ।

पन्ध्र मिनेट भइसक्दा पनि नआएपछि त्यतै गएँ ।
“कृष्ण !”
“हुँ, यहीँ छु ।” उनको आवाज पूरै बदलिएको थियो जसरी शिकारले आफ्नो कमजोरीको केही न केही रहस्य छोड्छ ।
“निकै बेर भो । सन्चो छैन ?”
उनी - “ . . . . . . . . . . . . ।” बोले तर थाह पाइँनँ ।
म पानी बनाउनतिर लागेँ । 
आधा घन्टाभन्दा बढी समयसम्म उनको चालचुल नभएपछि जबरजस्ती निकालेँ । पौष महिनाको चिसो मौसममा पनि उनी पसिनाले नुहाएका थिए । एक गिलास पानी खुवाएँ ।  उनी बोलेनन्, बोल्दै बोलेनन् । म उनको अनुहारमा उम्लिएको रहस्यलाई कखरासम्म पनि बुझ्न नसक्न व्यस्त बनेँ ।
उनी आएको पैँतालिस मिनेटपछि बाहिर गाडीको आवाज घ्यारघ्यार गऱ्यो । केही होहल्ला र केही बोलेको आवाज नजिकै सुनियो ।
“ढोका खोल्नुस् ।” यो आवाज दुईपटक आयो ।
मैले कृष्णको अनुहारतिर हेरेँ । भावनाशून्य उँधो मुन्टो थियो ।
“ सुन्नुभएन, ढोका खोल्नुस् ।” जोडसँग लात्ती बजारिएको ढोका छेस्किनी उछिट्टिएर मुख बाएर ह्वाङ्ग उघ्रियो । 
एकछिनको सन्नाटामा गरिएको अवलोकनपश्चात सुरक्षाप्रमुख डिएसपि बोले- “ उहाँले १४ करोड रुपैयाँ सहकारी ठगी, मानव बेचबिखन, अन्य गैरकानुनी काम र अपराध गरेको मुद्दा छ ।”
म अर्को परिचित अनुहारबाट झन झस्किएँ ।
साँच्चै सँगै दश कक्षा अध्ययन गरेको मेरो साथी जितबहादुर कार्की पक्राउ पुर्जी लिएर मेरा हितैषी भाइलाई कानुनी उपचारका लागि सुरक्षा बल प्रयोग गर्दै थिए । दुई पटक आँखा जुध्दासम्म मलाई चिनेको भावनात्मक आभास  उनका आँखामा अलिकति पनि पाउँन मुस्किल पऱ्यो ।
त्यतिन्जेल सम्ममा कृष्ण र मेरो हातमा हतकडी लागिसकेको थियो । हातमा हतकडी लाग्दै गर्दा कृष्णको अनुहारमा पुलुक्क हेर्दा उनको अनुहार झुनझन निहुरँदै गएको देख्न सकिन्थ्यो ।

घरका आमाबुबा, गृहिणी र छोराछोरीको कोकोहोलो अघिबाटै सुरु भइसकेको थियो भने बाहिर मानिसहरुको बजार लागेको थियो ।

समाप्त ।
                                       केशव भट्टराई
                                    रतुवामाई -८, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्