विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झा ले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा भएको छ।
सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएकी देखिन्छिन् भने प्रहरी टोलीले उनलाई ‘माननीय सलामी’ दिएको दृश्य देखिन्छ। उक्त दुश्य इलाका प्रहरी कार्यालय रंगेलीको रहेको छ।
मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद झा यसपालि संघीय निर्वाचनमा पहिलो प्रयासमै निर्वाचित भएकी थिइन्। २०७९ को स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिका वडा नं १३ को अध्यक्ष पदमा पराजित भएका आमोदकुमार झाका श्रीमती हुन ।
सांसद झा २००७ सालको नेपाली कांग्रेसको क्रान्तिका शहीद कुलदीप झा की नातिनी हुन्। कांग्रेस पृष्ठभूमिबाट राजनीति सुरु गरेकी उनले संघीय निर्वाचनअघि रास्वपामा प्रवेश गरेकी थिइन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले सांसदलाई दिइएको सम्मानलाई सामान्य प्रोटोकलको रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले यसबाट टाढा रहनुपर्ने टिप्पणी गरेका छन्।