सोनु साह
विराटनगर । देशभरका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। यसको प्रत्यक्ष प्रभाव विराटनगरस्थित कोशी अस्पताल मा देखिएको छ।
विराटनगरका प्रमुख निजी स्वास्थ्य संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र विराट टिचिङ अस्पताल मा दैनिक सयौं बिरामी उपचारका लागि पुग्ने गरे पनि स्वास्थ्य बीमा सेवा बन्द भएपछि उनीहरू सरकारी अस्पतालतर्फ आकर्षित हुन थालेका छन्।
बिरामी तथा कुरुवाहरूका अनुसार निजी अस्पतालमा बीमा सुविधा हुँदा कम खर्चमा तुलनात्मक रूपमा सहज र गुणस्तरीय सेवा प्राप्त हुने गरेको थियो। बीमा सेवा बन्द भएसँगै निजी अस्पतालमा उपचार गराउन आर्थिक भार बढेको र धेरै बिरामी सरकारी अस्पताल जान बाध्य भएको उनीहरूको भनाइ छ।
उनीहरूले सरकारी अस्पतालमा चिकित्सक समयमै उपलब्ध नहुने, सेवाप्रति हेलचेक्र्याइँ हुने, बिरामीसँगको व्यवहार सन्तोषजनक नहुने तथा औषधि अभावजस्ता समस्या रहेको गुनासो गर्दै आएका छन्। यद्यपि आर्थिक अवस्था कमजोर भएका अधिकांश बिरामीका लागि सरकारी अस्पताल नै अन्तिम विकल्प बनेको छ।
कोशी अस्पतालमा सामान्यतया दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म बिरामीले सेवा लिने गरेका छन्। तर सोमबार भने अस्पतालमा १ हजार ७ सय ७० जना बिरामीले सेवा लिएका छन्, जुन चालु वर्षकै सबैभन्दा धेरै दैनिक बिरामी संख्या भएको अस्पताल प्रशासनले जनाएको छ।
कोशी अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपाने का अनुसार निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको संख्या बढ्नु सकारात्मक पक्ष भए पनि उपलब्ध स्रोत–साधनले बढ्दो चाप व्यवस्थापन गर्न चुनौती सिर्जना गरेको छ।
“हाम्रो अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी आउने गरेका छन्। निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि थप बिरामी आउनु स्वाभाविक हो। तर भवन, चिकित्सक, केही औषधि तथा अन्य स्रोत–साधनको अभावका कारण आगामी दिनमा बिरामी संख्या अझै बढे व्यवस्थापन गर्न कठिन हुन सक्छ,” न्यौपानेले भने।
उनका अनुसार लगातार चार दिनको बिदापछि सोमबार अस्पताल खुलेको कारण पनि बिरामीको संख्या बढेको हुन सक्छ। सोमबार मात्रै ८ सय ९५ जनाले स्वास्थ्य बीमा अन्तर्गत सेवा लिएका छन्, जुन पछिल्ला दिनको तुलनामा करिब एक सय बढी हो।
न्यौपानेले निर्माणाधीन नयाँ भवन समयमै सम्पन्न भए अस्पतालको सेवा क्षमता विस्तार गर्न र बढ्दो बिरामी चाप व्यवस्थापन गर्न सहज हुने बताए। स्वास्थ्य बीमा सेवा निजी अस्पतालबाट हटाइएपछि सरकारी अस्पतालहरूमा बिरामीको संख्या निरन्तर बढ्ने संकेत देखिएको भन्दै आवश्यक जनशक्ति, पूर्वाधार र औषधि व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।
स्वास्थ्य बीमा कोशी प्रदेशका संयोजक अर्जुन पण्डितका अनुसार कोशी प्रदेशको समग्र जनसंख्याको ५४ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका लाभग्राही हुन आवद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशमा ४९ लाख ६२ हजार ४१२ जनसंंख्या रहेको तथ्यांक छ । वित्तीय संकट आएका कारण निजी अस्पतालहरुमा आकस्मिक बाहेकका सेवाहरु हटाउने निर्णय भएको हो । आकस्मिक भन्नाले सर्पले टोक्यो, झाडाबान्ता लाग्यो, चोटपटक वा दुर्घटना भयो र आकस्मिक अचेत भएर ढल्यो भने यसलाई आकस्मिक सेवा भनिएको छ ।
कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेका ठूला निजी टिचिङ अस्पतालहरु विराट मेडिकल कलेज, नोबेल टिचिङ र बि.एण्ड.सी. अस्पताल हुन् । यी अस्पतालले सरकारी अस्पतालको भन्दा धेरै बिरामी संख्या धान्ने क्षमता राख्दछन् । स्वास्थ्य बीमा कार्यक्रम हटेसँगै त्यसको चाप भने सरकारी अस्पतालमा परेको हो ।