विराटनगर, १९ जेठ । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि लक्षित “स्टडी इन इन्डिया एक्स्पो” आगामी जेठ २५ गते विराटनगरमा आयोजना हुने भएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने निःशुल्क एक्स्पो विराटनगरस्थित बिग होटेलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजक अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार एक्स्पोमा भारतका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहनेछ । कार्यक्रममा विद्यार्थीहरूले कलेजका आधिकारिक प्रतिनिधिसँग सिधै भेटघाट र अन्तरक्रिया गर्दै दुई सय भन्दा बढी स्नातक, स्नातकोत्तर तथा अन्य शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि, चिकित्सा तथा पारा–चिकित्सा, फार्मेसी, नर्सिङ, कृषि, होटेल म्यानेजमेन्ट, कानुन, कला तथा मानविकी लगायतका विविध विषयका कोर्सहरूबारे जानकारी दिइनेछ ।
एक्स्पोको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले स्थलमै प्रत्यक्ष आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । मेरिटका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसरसमेत रहेको थपालियाले जानकारी दिए । साथै, विश्वविद्यालयहरूको शुल्क संरचना, भर्ना प्रक्रिया, आवश्यक कागजात, भिसा प्रक्रिया तथा अध्ययनपछिको करिअर सम्भावनाबारे विस्तृत परामर्श प्रदान गरिने छ । विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकता वा राहदानीको प्रतिलिपि साथमा ल्याएमा आवेदन प्रक्रिया सहज हुने बताइएको छ ।
नेपाल र भारतबिचको भौगोलिक, सांस्कृतिक तथा सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्था नेपाली विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै आएका छन् । तुलनात्मक रूपमा सुलभ शुल्क, अङ्ग्रेजी माध्यममा अध्ययनको सुविधा, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक पूर्वाधार तथा विविध छात्रवृत्ति अवसरहरू भारत रोज्नुका प्रमुख कारण मानिन्छन् ।
भारतमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थी तथा अभिभावकका लागि विराटनगरमा हुन लागेको एक्स्पो महत्त्वपूर्ण अवसर बन्न सक्ने अपेक्षा गरिएको छ । थपलियाले इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई उपलब्ध अवसरको लाभ लिन आग्रह गरेका छन् ।