विराटनगर । मैथिली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील मैथिली विकास अभियान, विराटनगर मोरङले ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ। परम्परागत मैथिली लोकगीतको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
संस्थाका अनुसार मिथिलाका महिलाहरूले सामूहिक रूपमा गाउने मौलिक लोकगीतहरू हाम्रो सांस्कृतिक पहिचान र संस्कारका महत्वपूर्ण आधार हुन्। आधुनिकताको बढ्दो प्रभावसँगै यस्ता लोकगीत लोप हुने जोखिम बढेकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा विराटनगर महानगरपालिका तथा आसपासका पालिकाका महिला समूहहरू सहभागी हुनेछन्। सहभागी समूहहरूको छनोटका लागि जेठ २९ गते बिहान १० बजेदेखि विराटनगर–११ जनपथ टोलस्थित संगम पार्टी प्यालेसमा अडिसन कार्यक्रम सञ्चालन गरिनेछ। अडिसनबाट उत्कृष्ट १२ समूह छनोट गरी फाइनल चरणमा प्रवेश गराइने आयोजकले जनाएको छ।
अन्तिम प्रतिस्पर्धा जेठ ३० गते विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ। कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन मैथिली क्षेत्रका चर्चित गायक–गायिकाहरूको विशेष प्रस्तुति समेत रहनेछ।
प्रतियोगितामा मौलिक संगीत झल्किने सामूहिक लोकगीत मञ्चन गरिनेछ। यस वर्ष विशेषगरी महिला समूहहरूको सक्रिय सहभागिता र उपस्थितिलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ। साथै, प्रत्यक्ष रूपमा उपस्थित हुन नसक्ने इच्छुक सहभागीहरूका लागि सामाजिक सञ्जालमार्फत एक मिनेटको गीतको भिडियो पठाएर पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै सामाजिक सञ्जालमार्फत उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले मैथिली भाषा, कला र सांस्कृतिक सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सरोकारवाला निकाय, सञ्चारकर्मी तथा नागरिक समाजको सहयोगको अपेक्षा गरेका छन्।