सोनु साह
विराटनगर । पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेसँगै विराटनगरमा विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। बिहान, दिउँसो तथा रातिको समयमा समेत पटक–पटक बत्ती जाने र कतिपय क्षेत्रमा रातभर विद्युत् अवरुद्ध हुने गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीयका अनुसार नियमित रूपमा विद्युत् महसुल बुझाउँदा पनि गर्मीयाममा बारम्बार बत्ती जाने समस्या वर्षेनि दोहोरिने गरेको छ। समयमै महसुल नतिर्दा जरिवाना तिर्नुपर्ने अवस्था भए पनि सेवा भने प्रभावकारी नभएको उनीहरूको गुनासो छ। नयाँ सरकार आए पनि समस्या समाधानमा खासै सुधार नदेखिएको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार साहले भने प्राधिकरणले जानाजान विद्युत् कटौती नगरेको स्पष्ट पारे। उनका अनुसार पछिल्लो समय हावाहुरी, वर्षा तथा अत्यधिक गर्मीका कारण विद्युत् प्रणालीमा अतिरिक्त दबाब पर्दा समस्या देखिएको हो।
“एक्कासी गर्मी बढेपछि विद्युत् खपत अत्यधिक बढेको छ। त्यसका कारण ट्रान्सफर्मरका फ्युज जाने, केबुलमा आगलागी हुने, एलटी तार जुध्ने लगायतका समस्या देखिँदा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ,” प्रमुख साहले भने। उनका अनुसार विगतमा अधिकांश घरमा पंखाको प्रयोग हुने गरे पनि अहिले एसी, फ्रिज लगायतका विद्युतीय उपकरणको प्रयोग व्यापक रूपमा बढेको छ। साथै विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न समेत घरायसी मिटर प्रयोग हुन थालेपछि लोड थप बढेको छ।
प्राधिकरणले प्रत्येक वर्ष आवश्यकता अनुसार ट्रान्सफर्मर थप्ने काम गरिरहेको भए पनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको साहको गुनासो छ। “धेरैजसो स्थानमा स्थानीयले आफ्नो जग्गामा ट्रान्सफर्मर राख्न अनुमति नदिँदा समस्या समाधानमा कठिनाइ भइरहेको छ,” उनले बताए।
विराटनगर वितरण केन्द्रअन्तर्गत हाल कटहरी, बसबारी, टंकी र रानी गरी चार वटा सबस्टेसन सञ्चालनमा छन्। यी सबस्टेसनबाट विराटनगर महानगरपालिका, ग्रामथान, बुढीगंगा, कटहरी र जहदा गाउँपालिकालगायत क्षेत्रलाई विद्युत् सेवा प्रदान हुँदै आएको छ।
प्रमुख साहका अनुसार तत्काल समस्या न्यूनीकरण गर्न कम्तीमा १० वटा नयाँ ट्रान्सफर्मर थप्नुपर्ने आवश्यकता रहेको छ। साथै एक नयाँ सबस्टेसन निर्माणको पहल पनि भइरहेको उनले जानकारी दिए।
“ट्रान्सफर्मर जडानका लागि स्थानीयवासीको सहयोग आवश्यक छ। आवश्यक पूर्वाधार विस्तार गर्न सहयोग गरिदिन हामी अनुरोध गर्छौं,” उनले भने।
उनले विराटनगर वितरण केन्द्रमा प्राविधिक कर्मचारीको अभाव समेत रहेको उल्लेख गर्दै विद्युत् पूर्वाधार विस्तारसँगै जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए। प्राधिकरणले बढ्दो विद्युत् मागलाई ध्यानमा राखेर सबस्टेसन, ट्रान्सफर्मर तथा कन्डक्टरको क्षमता विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।