विराटनगर । १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ।
१६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरे।
झण्डा हस्तान्तरणसँगै १७औं संस्करणको औपचारिक तयारी सुरु भएको संकेत गरिएको छ। कोशी प्रदेशमा आयोजना हुने प्रतियोगितामा देशभरका विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहनेछ।
राष्ट्रपति रनिङ शिल्ड नेपालकै प्रतिष्ठित विद्यालयस्तरीय खेल प्रतियोगितामध्ये एक मानिन्छ। यस प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कोशी प्रदेशले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अगाडि बढाउने जनाएको छ।