पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नतिजा सार्वजानिक सधैं ढिला

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नतिजा</span> <span class='c2'>सार्वजानिक सधैं ढिला</span>

सोनु साह
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधान हुन नसक्दा विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा अध्ययन गर्न विद्यार्थीहरूको आकर्षण घट्दै गएको सरोकारवालाहरू बताउँछन्।

कोभिड–१९ महामारीका बेला अव्यवस्थित बनेको परीक्षा प्रणाली र नतिजा प्रकाशन प्रक्रिया महामारी समाप्त भएको सात वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सुधार हुन नसकेको विद्यार्थीहरूको गुनासो छ। विशेषगरी कानुन संकायमा विद्यार्थी संख्या तुलनात्मक रूपमा कम भए पनि परीक्षा सम्पन्न भएको पाँचदेखि छ महिनासम्म नतिजा नआउने गरेको उनीहरू बताउँछन्। कतिपय अवस्थामा परीक्षा तालिका समेत समयमै सार्वजनिक नहुने गरेको विद्यार्थीहरूको आरोप छ।
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय विराटनगरस्थित विश्वविद्यालयकै आंगिक क्याम्पस कलेज अफ ल नजिकै अवस्थित छ। विश्वविद्यालय अन्तर्गत विराटनगरमा कलेज अफ ल सहित तीन वटा कानुन कलेज सञ्चालनमा छन्। पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएको विराटनगरसहित देशभरका १९ वटा कानुन क्याम्पसमा बीएएलएलबी र एलएलबी स्नातक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

विश्वविद्यालयको नियमावलीअनुसार सम्बन्धित कार्यक्रमका डिन कार्यालयले स्वीकृत गरेको कोटा अनुसार मात्रै विद्यार्थी भर्ना गर्न पाइन्छ। हाल १९ वटा कानुन क्याम्पसमा कुल एक हजार ५५० विद्यार्थी भर्ना गर्ने कोटा भए पनि अधिकांश क्याम्पसमा सिट खाली रहेको अवस्था देखिन्छ। शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूका अनुसार परीक्षा तथा नतिजा प्रणाली कमजोर हुनु, शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु र प्रशासनिक ढिलासुस्तीका कारण कानुन संकायमा विद्यार्थी संख्या घट्दै गएको हो।

यता पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमाल भने विगतको तुलनामा परीक्षा र नतिजा प्रणालीमा उल्लेखनीय सुधार भइरहेको दाबी गर्छन्। उनका अनुसार कोभिड महामारीका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुँदा परीक्षा र नतिजा दुवैमा ढिलाइ भएको थियो। “अहिले अवस्था पहिलेभन्दा धेरै सुधार भएको छ। गत वर्ष पनि अधिकांश परीक्षा समयमै सम्पन्न भएका थिए,” हमालले भने, “क्रमिक रूपमा बाँकी समस्या पनि समाधान गर्दै गएका छौं।”

उनका अनुसार २०२४ ब्याचका बीएएलएलबी प्रथम वर्षका विद्यार्थीहरूको माघ महिनामा सम्पन्न परीक्षा नतिजा केही दिनभित्र सार्वजनिक गरिने तयारी भइरहेको छ। विगतमा नतिजा आउन एक वर्षसम्म कुर्नुपर्ने अवस्था रहे पनि अहिले अधिकतम छ महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

हमालले कानुन संकायमा पूर्णकालीन प्राध्यापकको संख्या अत्यन्तै कम भएकाले उत्तरपुस्तिका परीक्षण तथा नतिजा तयारीमा समय लाग्ने गरेको स्वीकार गरे। उनका अनुसार पाँचौं वर्षको नतिजा केही दिनअघि सार्वजनिक भइसकेको छ भने हाल प्रथम र चौथो वर्षको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ।

“हामीसँग जनशक्ति पनि सीमित छ। शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रयासमा छौं। बाँकी रहेका उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको छ र नतिजा समयमै सार्वजनिक गर्ने तयारीमा छौं,” उनले भने।

परीक्षा नियन्त्रक हमालका अनुसार यस वर्ष बीएएलएलबी प्रथम वर्ष र पाँचौं वर्षको परीक्षा दशैं अगावै सम्पन्न गर्ने योजना रहेको छ। यद्यपि विद्यार्थीहरू भने विश्वविद्यालयले सुधारका प्रतिबद्धता मात्र व्यक्त गर्ने तर व्यवहारमा अपेक्षित सुधार नदेखिएको भन्दै परीक्षा तथा नतिजा प्रणालीलाई थप प्रभावकारी बनाउन माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्