विराटनगर । आफ्नै कार्यालयमा बेरुजु देखिएका व्यवसायीलाई विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी दिने गरी व्यवस्थापन खोलिएको ठेक्का रद्द गरिएको छ । निश्चित कम्पनीलाई लक्षित मापदण्ड बनाएर सार्वजानिक–निजी साझेदारी (पीपीपी) विधिमा फोहोर संकलन, ढुवानी र बिसर्जन गर्न दिने तयारी गरिएको भन्दै त्यसको विरोध भएको थियो । मापदण्ड बनाउँदा नै निश्चित कम्पनी निर्धारित तयार पारिएको आरोप अन्य व्यवसायीले लगाएका थिए ।
गत चैत ६ गते आह्वान गरेको बोलपत्रकोे ललितपुरस्थित नेप्सेम्याक सेवा प्रा.लि.ले मात्र ई–बिडिङमार्फत प्रस्ताव पेस गरेको थियो । त्यसका आधारमा बैशाख ७ गते एकल बोलपत्र थियो । जमानत रकम नै ५५ लाख राखिएको र आफ्नै ढुवानीका साधन हुनुपर्ने र मूल्यांकन अंकमा समेत फरकफरक मापदण्ड तोकिएको थियो । नेप्सेम्याक सेवा प्रा.लि.को मात्रै बोलपत्र परेको थियो । त्यसपछि यो विषय विवादित बन्दै आएको थियो । महानगरपालिकाले सम्झौता गर्नुपूर्व नै ठेक्का रेद्द गरिदिएको हो । नेम्प्सेम्याकका अध्यक्ष टीकाराम दाहाल संयोजक रहको वेष्ट मेनेजमेन्ट प्रा.लि. जेभीले दशवर्ष अगाडी विराटनगरको फोहोर व्यवस्थापनको जिम्मेवारी लिदाँ त्यसको बेरुजु समेत फस्र्यौट नगरेको देखिएको थियो । दाहाल संयोजक रहेको वेष्ट मेनेजमेन्टको गत चैत मसान्तसम्म १२ लाख १५ हजार ४५० रुपँैया बेरुजु भेटिएको थियो । न्यायिक समितिमै पहिलेकै बेरुजु फस्र्यौट नभएको व्यक्तिले कम्पनी बदलेर फोहोर व्यवस्थापनको जिम्मेवारी लिने मनसाय राखेको भन्दै उजुरी परेपछि त्यसको छानविन गर्ने क्रममा कैफियत फेला परेको थियो ।
महानगरपालिकाले विराटनगर–१६ मा आफ्नै स्वामित्वको जग्गामा डम्पिङ साइट स्थापना गरेको छ । त्यसमा प्रशोधन केन्द्र स्थापना गर्ने गरी सहरको फोहोर व्यवस्थापनको जिम्मेवारी २० वर्षलाई सुम्पन लागिएको हो । महानगरपालिका सुचना अधिकारी अर्जुन थपलियाका अनुसार सार्वजानिक खरिद ऐन २०६३ को दफा २६ बमोजिम बोलपत्र अस्वीकृत भएको जानकारी जेठ १३ गतेकै पत्रबाट कम्पनीलाई दिइसकिएको छ । जसमा कम्पनीका सञ्चालकको विगतको आचरण र जिम्मेवारीमा रहँदाताकाको कम्पनीको नाममा रहेको बेरुजु फस्र्यौट नगरी गैरजिम्मेवार बनेको उल्लेख छ ।
विराटनगरमा २०७३ सालदेखि २०७८ सालसम्म वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि.जेभीले फोहोर संकलन तथा व्यवस्थापनको जिम्मेवारी लिएको थियो । ये ग्रुपभित्र १५ वटा साझेदारी कम्पनी रहेकामध्ये नेप्सेम्याक प्रा.लि. समेत रहेको छ । वेष्ट मेनेजमेन्ट ग्रुप प्रा.लि.ले फोहोर व्यवस्थापनको जिम्मेवारी लिँदा संयोजक रहनु भएका दाहाल अहिले नेप्सेम्याकको अध्यक्ष रहेको खुलेको छ । त्यसबेला सम्झौता अनुसार काम नगरेको आरोपमा २०७३ माघ १७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पक्राउ गरिदिन पत्राचार गरिएको थियो । त्यसपछि सम्झौतामार्फत काम गरेपनि विदा हुँदाताका बेरुजु फस्र्यौट नगरेको देखिएको छ ।
विराटनगर महानगरपालिका सरसफाई शाखाका प्रमुख पुनम दाहालले कम्पनीले पेस गरेको प्रस्तावका आधारमा एकललाई स्वीकार गर्नुपर्ने बाध्यता भएपनि त्यसपछि उठेका प्रश्न र छानविनका क्रममा अध्यक्ष नै विवादित देखिएपछि रद्द गरेर नयाँ प्रक्रियामा जाने निर्णय भएको हो । दाहालका अनुसार विराटनगरमा दैनिक एकसय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । २०७८ सालपछि यहाँको फोहोर तीन क्षेत्रमा तीनवटै कम्पनीले संकलन र व्यवस्थापन गर्दै आएका छन् । सम्झौता अवधी आगामी मंसिरदेखि सकिन्छ । त्यस अगाडी नै यता ठेक्का प्रक्रिया बढाउन खोजिएको हो ।