प्रेम देवान
विराटनगर । आज विश्व वातावरण दिवसमा विराटनगरका विभिन्न सडक, चोक र सार्वजनिक स्थल तथा स्कुल र कलेजहरुमा विरुवा रोप्ने कार्य भयो । आज विहानै विराटगरको हिमालय रोडमा आम नागरिकहरु हरियो टिसर्टहरु लगाएर विभिन्न सन्देश लेखिएका प्लेकार्डसहित उभिएका थिए भने कतै सामाजिक संघ–संस्थाहरु ठुला ठुला व्यानरमा । आज विश्व वातावरण दिवसको अवसरमा विराटनगर एक दिनका लागि हरियाली अभियानमा रमाएको थियो ।
जलवायु परिवर्तन, बढ्दो तापक्रम, प्रदूषण र हराउँदै गएको हरियालीबीच विराटनगरमा वातावरण संरक्षणको अभियान केही वर्षयता विस्तारै बलियो बन्दै गएको छ । शहरलाई हराभरा बनाउने उद्देश्यसहित अहिले यहाँ विभिन्न सामाजिक संघ–संस्थाहरु सक्रिय छन् । उनीहरुले वृक्षारोपण मात्रै होइन, संरक्षण र जनचेतना फैलाउने कामलाई पनि निरन्तरता दिइरहेका छन् ।




विश्व वातावरण दिवसकै अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने दुई संस्थालाई सम्मान गर्यो । महानगरले उनीहरुको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रोत्साहन दिएको छ ।
महानगरसँग प्रत्यक्ष सहकार्य गर्दै गोल्स फाउण्डेशन, दिगो विकास इन्स्टिच्युट, गो ग्रिन, सुनौलो अवसर युवा क्लब र एलायन्स युवा क्लबजस्ता संस्थाहरु हरियाली अभियानमा जुटिरहेका छन् । यिनले सडक किनार, सार्वजनिक स्थल तथा खाली जमिनमा विरुवा रोप्दै वातावरण जोगाउने अभियान चलाइरहेका छन् ।



त्यति मात्र होइन, विभिन्न रोटरी क्लब, जेसिज, लियो, लायन्स क्लब तथा विद्यालय–कलेजहरुले पनि बेला–बेलामा वृक्षारोपण कार्यक्रम गर्दै आएका छन् । विद्यार्थीहरुलाई वातावरण संरक्षणप्रति सचेत गराउने उद्देश्यले विद्यालयस्तरबाटै अभियान सञ्चालन हुन थालेको छ । यही अभियानका बीच एउटा नाम भने अहिले विराटनगरमा विशेष चर्चामा छ — पारुल क्षेत्री । उनले पछिल्लो तीन वर्षदेखि निरन्तर विरुवा रोप्दै विराटनगरलाई हरियाली बनाउने अभियान चलाइरहेकी छन् ।
उनको दाबी अनुसार तीन वर्षको अवधिमा उनले झण्डै १७ हजार विरुवा रोपिसकेका छन् । उनी केवल विरुवा रोपेर मात्रै रोकिन्न , त्यसको संरक्षणमा समेत उत्तिकै सक्रिय देखिन्छिन् । “विराटनगरलाई हरियाली नगर बनाउने मेरो सपना हो,” उनी भन्छन् । उनले ‘संकल्प हरित विराटनगर’ नामक अभियान सञ्चालन गर्दै विराटनगरको ढाटदेखि रानी बोर्डरसम्म सडक क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित काम गरिरहेका छन् । उनको टिम आज मात्रै आदा दर्जन जति स्कुलहरुमा पुगेर वृक्षारोपण गरे ।




यता विश्व वातावरण दिवसको अवसरमा विराटनगरका दर्जनौं संघ–संस्था, विद्यालय, कलेज तथा सरोकारवाला निकायहरुले वृक्षारोपण कार्यक्रम गरे । कतै सडक किनारमा विरुवा रोपिए, कतै पार्क तथा विद्यालय परिसरमा । वातावरण संरक्षण केवल एक दिनको कार्यक्रम नभई दीर्घकालीन जिम्मेवारी भएको क्षेत्रीको भनाई छ । बढ्दो सहरीकरणसँगै हरियाली घट्दै गएको विराटनगरमा यस्ता अभियानहरुले सकारात्मक सन्देश दिइरहेका छन् ।
हरियो शहर बनाउने सपना केवल सरकारको जिम्मेवारी मात्र होइन, नागरिकको सहभागिताले मात्रै सम्भव हुने देखिन्छ ।