विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार विराटनगरस्थित होटल मनास्लुमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन् ।


सभापतिको निर्वाचनमा कँडेलले २०४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कोषराज खनालले ९९ मत तथा सागर फुयालले ४१ मत प्राप्त गरेका थिए । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन् । सचिव पदमा दिवस नेपाल ९५ मतसहित विजयी भए । सचिवका अर्का उम्मेदवार कुमार खुलालले ८५ मत तथा इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए ।
यस्तै, सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए । जिल्ला समिति सदस्यहरूमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ तथा परमेश्वर शाह निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधिको सहभागिता रहेको थियो । निर्वाचनमा कुल ४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।