विराटनगर । विराटनगर–११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले ५३ औँ विश्व वातावरण दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।

महिला लक्षित उक्त संस्थाले विगत २५ वर्षभन्दा लामो समयदेखि सहकारी गतिविधिसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसैक्रममा आइतबार विराटनगर–१२ स्थित विराट सामुदायिक भवनमा कौसी तथा करेसाबारीमा अर्गानिक तरकारी खेती गर्दै आएका व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा तेजबहादुर कार्की, मञ्जु निरौला र जानुका वस्ती रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं.११ का अध्यक्ष तिथेन्द्र न्यौपाने तथा संस्थाकी कार्यवाहक अध्यक्ष इन्दिरा गिरीले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

त्यसैगरी विराटनगरलाई हरियाली बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्दै आएको संस्था ‘संकल्प हरित विराटनगर’ का पारुल क्षेत्रीलाई पनि विरुवा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सरिता इन्द्र पूर्व प्रा.लि.ले कौसी तथा करेसाबारीमा उत्पादन गरिएका अर्गानिक तरकारीहरुको प्रदर्शनीसमेत राखेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिथेन्द्र न्यौपानेले वातावरण संरक्षणका लागि स्थानीय तह, संघसंस्था र नागरिक सबैको साझा भूमिका आवश्यक रहेको बताए । उनले कौसी तथा करेसाबारीमा अर्गानिक खेती गर्ने संस्कृतिले वातावरण संरक्षणसँगै स्वस्थ जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

संस्थाकी कार्यवाहक अध्यक्ष इन्दिरा गिरीले महिला क्षमता विकास केन्द्र सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताइन् । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
