विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर–१६ स्थित दक्षिण गेट जोगबनी बोर्डर क्षेत्रमा सिटी सफारी तथा ट्याम्पो चालकहरुमाथि छड्के लागुऔषध सेवन (लापसे) चेकजाँच गरेको छ ।
मंगलबार ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेको नेतृत्वमा गरिएको चेकजाँचमा ८० जना सवारी चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १३ जना चालकले लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रमुख न्यौपानेले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नियमित रुपमा यस्तो अभियान सञ्चालन गरिएको बताए । उनले लागुऔषध सेवन गरेर सवारी चलाउँदा चालक, यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले कडाइ गरिएको उल्लेख गरे ।
“सडक सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले छड्के चेकजाँचलाई निरन्तरता दिएको छ,” न्यौपानेले भने, “लागुऔषध सेवन गरेर सवारी चलाउने गतिविधि नियन्त्रण गर्न अझ प्रभावकारी अनुगमन गरिनेछ ।”
लागुऔषध सेवन गरेको पाइएका चालकहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।