विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको नेतृत्व चयनका लागि आठ जनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मोरङको विराटचोकमा जारी रास्वपा कोशीको प्रथम प्रदेश अधिवेशन अन्तर्गत सभापति पदका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिका अनुसार सभापति पदका लागि गोमा तामाङ (सरिन), चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल, वीरेन्द्र श्रेष्ठ र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन्।


त्यसैगरी प्रदेश समिति सदस्य पदका लागि ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाको विधानअनुसार कोशी प्रदेश समिति ६१ सदस्यीय रहने व्यवस्था छ। अधिवेशनमार्फत नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि मतदान कार्यक्रम अघि बढाइने निर्वाचन समितिले जनाएको छ।