प्रेम देवान
विराटनगर । सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि विराटनगरमा रहेको कोशी अस्पतालमा बिरामीहरूको अत्यधिक चाप बढ्न थालेको छ । बिरामीको भीड बढेसँगै सेवाग्राही मात्र होइन, चिकित्सक र अस्पताल कर्मचारीसमेत समस्यामा परेका छन् ।
यसअघि विराटनगरका नोबेल अस्पताल, हाम्रो अस्पताल तथा बुढीगंगास्थित विराट टिचिङ अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा उपलब्ध हुँदै आएको थियो । तर, जेठ १६ गतेदेखि सरकारले निजी अस्पतालमा बीमा सेवा रोकेपछि अहिले सरकारी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको हो । मंगलबार आवर विराटनगरको टोलीले कोशी अस्पताल पुगेर स्थलगत रिपोर्टिङ गर्दा ओपीडी कक्षदेखि टिकट काउन्टरसम्म बिरामीको लामो भीड देखिएको थियो । बस्ने ठाउँको अभाव भएपछि कतिपय बिरामी भुइँमै बस्न बाध्य थिए । बिरामीहरूले चिकित्सक समयमै उपलब्ध नहुने तथा बीमा सेवा कोशी अस्पतालमै सीमित हुँदा थप सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
विराटनगर–१० की शोभा तामाङ भन्छिन, “ओपीडीमा यति धेरै भीड छ कि उपचार गर्न आउँदा झन् बिरामी परिने डर लाग्न थालेको छ । नोबेल र विराट टिचिङ अस्पतालमा पनि बीमा सेवा सञ्चालन भएको भए सर्वसाधारणलाई धेरै राहत मिल्थ्यो ।”त्यस्तै विराटनगर १२ का स्थानिय रविन्द्र बोहोराले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “पहिले सेवा पाइरहेका अस्पतालबाट बीमा हटाएर कोशीमा मात्र सीमित गरियो । यसले सर्वसाधारणलाई ठूलो सास्ती भएको छ ।”बेलबारी–३ का ९५ वर्षीय भवानीप्रसाद सापकोटाले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता नदिइएको गुनासो गरे । “लाइनमा घण्टौँ बस्नुपर्छ, वृद्ध र अशक्तलाई छुट्टै सुविधा छैन,” उनले भने ।
अस्पतालमा अत्यधिक भीडका कारण चोरीका घटना समेत हुने गरेको छ । अस्पताल प्रशासनले माइकिङमार्फत बिरामी तथा आफन्तलाई आफ्ना सामानको सुरक्षा गर्न बारम्बार सचेत गराउँदै आएको छ । यता अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले बिरामीको चाप अत्यधिक बढेकै कारण व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गरे । उनका अनुसार निजी अस्पतालमा बीमा सेवा बन्द भएसँगै कोशी अस्पतालमा बिरामीको संख्या झण्डै दोब्बर पुगेको छ ।
“हामी अस्पताल सुधारको प्रयासमै छौँ । केही कर्मचारी अभावका कारण ओपीडी सेवामा समस्या देखिएको हो । यद्यपि विभागअनुसार कर्मचारी व्यवस्थापन गरिएको छ,” न्यौपानेले बताए ।
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्नुका साथै सातामा दुई दिन सार्वजनिक बिदा लागू गरिएकाले पनि सरकारी अस्पतालहरूमा थप भीड बढेको सर्वसाधारणको भनाइ छ ।