विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिलयाण्ड कलेजले कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापक तथा शिक्षक–शिक्षिकाहरुलाई वार्षिक शैक्षिक पठनपाठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले बिहीबार विराटनगर एयरपोर्ट रोडमा रहेको होटल पर्पलहेजमा एक कार्यक्रम आयोजना गरी नयाँ शैक्षिक सत्रका लागि तयार पारिएको वार्षिक कार्ययोजना, पठनपाठन प्रणाली, परीक्षा सञ्चालन तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी विषयमा अभिमुखीकरण गराएको हो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विभागीय प्रमुखहरुसँग यसअघि नै छलफल तथा योजना निर्माण गरी वार्षिक शैक्षिक गतिविधि अगाडि बढाइएको जानकारी दिए । उनले भने, “विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि योजनाबद्ध ढंगले अध्यापन आवश्यक हुन्छ । त्यसैले विभागीय प्रमुखहरुसँग समन्वय गरेर वार्षिक कार्ययोजना तयार गरिएको हो ।”
हाल कलेजमा बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइ सञ्चालन हुँदै आएको छ । व्यवस्थापन तथा विज्ञान संकाय अन्तर्गत कक्षा ११ र १२ मा १६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।

कलेजका निर्देशक भेषराज पोखरेलले एक वर्षसम्म विद्यार्थीलाई कसरी प्रभावकारी रुपमा अध्यापन गर्ने, पाठ्यक्रमको कोर्स व्यवस्थापन, परीक्षा सञ्चालन र अतिरिक्त क्रियाकलापलाई समेटेर योजना तयार गरिएको बताए । उनले भने, “शिक्षण सिकाइलाई अझ व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन अभिमुखीकरण कार्यक्रम गरिएको हो । वार्षिक योजनाअनुसार सबै गतिविधि सञ्चालन गरिनेछ ।” कार्यक्रममा विभिन्न विषयका विभागीय प्रमुख तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बिजनेस स्टडिज विभागमा लक्ष्मण ढकाल, नेपालीमा भेषराज पोखरेल, सामाजिकमा मनिष पोखरेल, अंग्रेजीमा डा.मनोज गुप्ता, अर्थशास्त्रमा डा.पीके झा, लेखामा प्रदीप भगत र नन्दकिशोर अग्रवाल रहेका छन् ।

त्यस्तै विज्ञानतर्फ फिजिक्समा पेशल पोखरेल, केमिस्ट्रीमा डा.शिव नारायण यादव, बायोलोजीमा यासिर जमाल तथा गणितमा डा.नागेन्द्रकुमार साह विभागीय जिम्मेवारीमा रहेका छन् ।