विराटनगर । विराटनगरस्थित जैन भवनमा आज साँझ आयोजना हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” स्थगित गरिएको छ । खराब मौसमका कारण भारतबाट आउने चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह को उडान प्रभावित भएपछि कार्यक्रम एक दिनका लागि सारिएको आयोजकले जनाएको हो ।
आयोजक संस्था ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपाल को सहकार्यमा आज साँझ कार्यक्रम गर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । तर भारतमा लगातार भइरहेको वर्षाका कारण हवाई उडानमा समस्या आएपछि गायक समयमै विराटनगर आइपुग्न नसकेको आयोजक टिमले जनाएको छ ।

इभेन्ट मेनेजर कौशल अग्रवालका अनुसार प्रतिकूल मौसमका कारण उडान डिले भएपछि कार्यक्रमलाई भोली साँझका लागि सारिएको हो । उनले कार्यक्रम स्थगित हुँदा दर्शक तथा सहभागीमा पर्न गएको असुविधाप्रति आयोजक टिमले क्षमायाचना समेत गरेका छन् ।
उनले भोली दिउँसोसम्म गायक गजेन्द्र प्रताप सिंह विराटनगर आइपुग्ने अपेक्षा गरिएको र त्यसपछि भोली साँझ कार्यक्रम आयोजना गरिने जानकारी दिए । आयोजकका अनुसार “भजन क्लब्बिङ कन्सर्ट” को मुख्य उद्देश्य नसामुक्त युवा समाज निर्माण अभियानलाई सहयोग गर्नु रहेको छ । कार्यक्रम मार्फत मोरङ जिल्लामा बालसंस्कार केन्द्र तथा ट्युसन सेन्टर सञ्चालनका लागि आर्थिक कोष संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
