विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले ६८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार आरोहण गुरुकुलमा एक विशेष ‘ग्य्राजुएशन’ (दीक्षान्त) समारोह आयोजना गरी युकेजी तह पूरा गरेर कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।

वि.सं.२०७० सालमा स्थापना भएको यस विद्यालयले स्थापनाकालदेखि नै हरेक वर्ष विद्यार्थीहरूका लागि यस्तो दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल विजय दाहालले बालबालिकाको प्रारम्भिक खुड्किलो पार भएको अवसरलाई उत्सवका रूपमा मनाइएको बताए । “प्रि —प्राइमरी तह पूरा गरी प्राथमिक तहका लागि तयार हुनु आफैँमा एउटा उपलब्धि हो,” प्रिन्सिपल दाहालले भने, “यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै माथिल्लो कक्षामा अझ राम्रो गर्ने भावना जागृत गराउँछ ।”

समारोहमा बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल मणिराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रधान लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएर सहभागी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
विद्यालयका निर्देशक पंकज जैनले सञ्चालन गरेको उक्त कार्यक्रममा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।