विराटनगर । परम्परागत रुपमा ज्योतिष सेवामा संलग्न ज्योतिषहरुमा एकरुपता ल्याउन उनीहरुको पढाईसँगै परीक्षा लिन थालिएको छ । नेपाल ज्योतिष परिषद्ले सातवटै प्रदेशमा प्रदेशस्तरीय परीक्षा आइतबार आयोजना गरेको हो ।
मोरङको सुन्दरहरैंचा–८ स्थित सलकपुरको ब्राइटफ्यूचर बोर्डिङ स्कुलमा कोशी प्रदेशका अगुवा १८ जना ज्योतिषहरुले परीक्षा लेखेका छन् । आइतबारको परीक्षामा ७२ वर्षीय गणेश फुयाँलदेखि १२ वर्षीय अनुसन्धान भट्टराई समेत संलग्न भएका थिए । देशभरका ज्योतिषहरुलाई एकतावद्ध हुने र यससँग सम्बन्धित विषयहरुमा एकरुपता ल्याउने प्रयत्न अनुरुप यो कार्य थालिएको हो ।
व्यक्तिको जन्मका आधारमा ग्रहको गणना र त्यसबाट प्राप्त फलादेशका बारेमा समएकरुपता ल्याउनका लागि अगुवा ज्योतिषहरुका लागि प्रशिक्षण दिएर प्रदेशस्तरीय प्रशिक्षक परीक्षा सञ्चालन गरिएको कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौलाले जानकारी दिएका छन् । नेपाल ज्योतिष परिषद् केन्द्रले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र केन्द्रले नै पठाएको र उत्तरपुस्तिकाको जाँच समेत केन्द्रबाटै हुनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष शिवप्रसाद सुवेदीलाई तोकेर खटाइएको थियो ।
कोशी प्रदेशका पूर्व अध्यक्ष एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख सन्तोष पोखरेलका अनुसार २०८२ फागुन ६ गतेदेखि जेठ २० गतेसम्म अनलाइन कक्षा आयोजना गरिएको थियो । यो बीचमा दशदिन भौतिक उपस्थितिमै कक्षा समेत आयोजना गरिएको थियो । जसमा कोशी प्रदेशबाट २१ जनाले तीनमहिने अनलाइन कक्षामा सामेल भएका थिए । १९ जनाले परीक्षा लेखेका छन् । जसमध्ये खोटाङका १२ वर्षीय अनुसन्धान भट्टराईले कोशीमा अनलाइन अध्ययन गरेर बागमती प्रदेशको काभ्रेस्थित परीक्षा केन्द्रबाट सहभागिता भएको जानकारी दिइएको छ ।
ज्योतिष विद्या सामाजिक रुपमा विश्वसनिय भएपनि पछिल्लो समयमा सूचना–प्रविधीको विकासले यसमा केहि चुनौती थपिदिएको छ । जसलाई चिर्दै विज्ञान र प्रविधिमा समेत परम्परागत रुपमा ज्योतिष पेसा अपनाउँदै आएकाहरुलाई पारङगत बनाउने लक्ष्य राखिएको हो । केन्द्रले नै आधारभूत कोर्ष तयार पारेर त्यसका आधारमा तीन महिने प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको हो । जसमा जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु सामेल गराइएको छ । यसमा उत्तिर्णलाई केन्द्रले प्रमाणपत्र समेत प्रदान गर्नेछ । प्रमाणपत्र प्राप्त ज्योतिषहरुले जिल्ला र स्थानीय तहका ज्योषितहरुलाई पुनः सचेतना तालिम दिनुपर्ने हुन्छ । ज्योतिष निरौलाका अनुसार एकै स्थान र समयमा जन्म भएका बच्चाको दुई फरक ज्योतिषहरुले ग्रहका फरक–फरक फलादेश र गणना गरिदिने समस्या रहेको छ । स्थानीय सुर्योदय अनुसार बच्चाको जन्म, जन्मबाट पर्ने प्रभाव फरक पर्ने भएकोले राष्ट्रिय समय तालिकालाई मापन गरेर ग्रहको गणना गर्ने विधीले त्रुटी भित्र्याएको निरौलाको भनाई छ ।
नेपालको वैदिक सनातन धर्म, ज्योतिष र वास्तुशास्त्रको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने उद्देश्यसहित नेपाल ज्योतिष परिषद गठन भएको थियो । कोशीका अध्यक्ष निरौलाका अनुसार ज्ञान, अनुसन्धान, जीवनमार्गदर्शनको शास्त्रको रुपमा ज्योतिष विद्या पर्दछ । तर, यसलाई अन्धविश्वास मान्नेहरु समेत बढ्दो छन् । त्यो अन्धविश्वास मान्नेहरुको संख्या कम गर्न पनि व्यक्तिको कुण्डली निर्माण, वास्तुशास्त्र, कुण्डली मिलान र धार्मिक अनुष्ठानका कार्यक्रमहरुमा एकरुपता कायम गर्न जरुरी रहेको हो ।