विराटनगर । भारतको पटनामा २ जुन अर्थात १२ दिन अगाडी दुईवटा कोचिङ सेन्टरका बीचमा विवाद उत्पन्न हुँदा तोडफोड, आगजनी र गोलीसम्म चलेको थियो । पटनामा भएको उक्त घटना रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र फैजल खानले सञ्चालन गरेको ग्लोबल स्टडिजका खान सर केन्द्रीत थियो । जसको हल्लाखल्ला व्यापक थियो । त्यति मात्रै नभई पक्षविपक्षको बहसदेखि प्रहरीको मुद्दा मामिलासम्मको प्रक्रियामा छ ।
त्यो घटनापछि त्यसमा संलग्न आरोपी प्रिन्स कुमार यादव विराटनगर आएका थिए । उनीसहित पाँचजनाको टोलि विराटनगरको होटलमा बस्दै आएका थिए । भारतमा उनीहरु प्रहरीको खोजी सूचीका फरार बनेका हुन् । प्रिन्सकुमार रोशन आनन्दका भाइ हुन् । उनीहरुले ज्ञान बिन्दु कोचिङ सञ्चालन गर्दै आएका थिए । तर, पपुलर चाँहि खान सरको ग्लोबल स्टडिज थियो । त्यहि क्रममा उत्पन्न विवादबीच उनीहरुले खान सरको कोचिङमा हमला गरिदिएका थिए ।
भारत बितण्डा मच्चाएपछि भागेर विराटनगर आएका उनी यहाँको होटलमै बिरामी परेको दावी छ । स्वास्थ्य जटिलता देखिएपछि अस्पतालमा भर्ना गरेसँगै मृत्यु भएको भनाई छ । घटनापछि प्रहरीले मृतकसँगै होटलमा रहेका भारत बिहारका सहरसा निवासी २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी पक्राउ पर्नेमा एकजना नेपाली समेत रहेका छन् । सप्तरीको हनुमाननगरका ३० वर्षीय तिर्थ यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १० को शुभ होटलमा बसेका उनीहरु भारतीय प्रहरीसँग बच्न यहाँ लुकेका आरोपी हुन् । मोरङका प्रमुख, प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार होटलमा सँगै बसेकाहरुसँग प्रारम्भिक सोधपुछ भइरहेको छ । घटनाको बारेमा परिवारलाई जानकारी र पोष्टमार्टमपछि जिम्मा लगाइएको छ । परिवारले मृतक प्रिन्स बिरामी नै रहेकोले शव लैजाने बताएका थिए। प्रहरी उपरीक्षक कटुवालका अनुसार होटलमा बस्दा समेत प्रिन्सले उपचार गराउन आएको विवरण टिपाएका थिए ।
बिहारमा चर्चित खान सर काण्डका आरोपी प्रिन्सको मृत्युपछि घटनालाई अनुसन्धान गर्ने काम सुक्ष्म रुपमा भइरहेको प्रहरीले जनाएको छ । यसमा भारत प्रहरीको समेत उतिकै चासो हुने भएकोले क्रसबोर्डर सुरक्षाका हिसाबले पनि संवेदनशील हुनेछ । प्रहरी उपरीक्षक कटुवालले मृतकको आँखा नजिक सानो चोट जस्तो देखिएको छ । यद्यपी उनीसँगै रहेका चारजनाले घटनामा कसुर गर्नुपर्ने स्थिति र सिक्वेन्स भने देखिएको छैन भनिन्छ । प्रहरीले अपराधको घटनालाई सुक्ष्म रुपमा हेरिरहेको छ ।