विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन ।
हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना जीम गरेरै फिट भएको शरीरलाई शारिरीक सुगठन प्रतियोगितामा लडाउने लक्ष्यमा छन् । उमेर समूहका हिसाबले ५० कटेका तिम्सिना पछिल्ला चारवर्षयता लगातार धाइरहेका छन् । उनले गरेको मेहनतसँगै फर्किएको जवानी देखेपछि जीवन संगिनी मिनापनि ५१ टेकेपछि जीमको धुनमा देखिन्छन् । सँगै उठ्ने, सँगै जीम पुग्ने उनीहरुको जोडिले अरुलाई समेत प्रेरणा दिइरहेको छ ।
फिटनेस र यौन स्वास्थ्यको बीचमा गहिरो सम्बन्ध हुन्छ । उमेर ढल्केपछि जीम गरिरहेका यी जोडिको नियमित व्यायामसँगको दैनिकीले जीवनलाई शान्त र भरोसायोग्य चलाइ रहेको छ । जीम, एज (उमेर) अनि सेक्स केहि सम्बन्ध छ ? प्रश्न गर्नासाथ बल्लभमणी भन्छन्–ऊर्जाको स्तर बढाउँछ, यौन उत्तेजना र प्रदर्शनलाई सकारात्मक पार्दछ ।

उहि दैनिकीमा रहेकी सपना थापासँग यहि प्रश्न दोहो¥याउँदा उनी आफ्ना श्रीमान बिक्रमतिर आँखा डोहो¥याउँदै भन्छिन्–स्वस्थ्य जीवनले सम्बन्धलाई सुमधुर बनाउँछ । अत्याधिक तौल भएर हिड्नै नसक्ने स्थितिमा चारवर्ष अगाडी जीम भित्रिएका बिक्रम अहिले जवान देखिन्छन् । उनका अनुसार जीमले शरीर बनाउने मात्रै हैन जीवन डोहो¥याउने पनि गर्दछ ।

विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेसभित्र देखिने यी जोडीहरुमा पहिलो चाँहि विकास र खुश्बु नै हुन् । ‘हामी पहिलो कपल हौं’ बिकास भन्छन्–सायद हामीलाई हेरेरै आउनेहरुको संख्या दैनिक बढ्दो छ । उनका अनुसार अहिले जहाँसुकै पुग्दा पनि उनीमाथि सोध्ने प्रश्न हुन्छ, ‘तिमी त उमेर जति ढल्कन्छ, उति जवान देखिन्छौं ?’
सबै कुराको चाँजोपाँजो मिलाएर जीममा आउने मात्रै हैनन् घरमा आफ्ना सन्तानले जीम गर्न जानु बुबाआमा भनेर पठाइएका जोडि समेत सजिलोमा भेटिन्छन् । दुवैजना शिक्षकबाट रिटायर्ड जीवन बिताइरहेका प्रदिप निरौला र शिला खतिवडा तीन महिनादेखि शरीर तताईरहनु भएको छ । उमेरले प्रदिप ५५ र शिला ५० वर्षका भए । यो पनि एउटा नयाँ अनुभवको अवसर हो, प्रदिपले भने–भर्खरै कक्षामा जोइन्ट भएका हौं ।

यौन र फिटनेसबीचको मुख्य सम्बन्धलाई जसरी बुँदागत व्याख्या गरेपनि हुन्छ । तर, नियमित व्यायामले बलियो स्ट्यामिना, हर्मोन सन्तुलन लचिलोपन र तनाव व्यवस्थापनमा भरपुर सहयोग गर्दछ । जीमका सञ्चालक सन्जय साहका अनुसार कार्डियोभास्कुलर व्यायाम (जस्तैः दौडनु, पौडी खेल्नु वा साइक्लिङ गर्नु) ले मुटुको स्वास्थ्य राम्रो बनाउँछ । जसको महत्व दैनिक जीवनमा छ । उनका अनुसार पछिल्लो समय युवाहरुभन्दा पनि ४० कटेपछि शरीर बनाउनेहरुको संख्या धेरै देखिन थालेको छ । जसका लागि जीम एण्ड फिटनेस सेन्टरको व्यवस्थापनको रुपरेखामा समेत परिवर्तन ल्याउनु परिरहेको छ । यसले लगानी थप्नुपर्ने आकर्षण यो क्षेत्रमा थपिरहेको छ ।

