विराटनगर । मोरङको कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्ग क्षेत्रमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी अवरोध भएको छ । हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सवारी आवागमन असहज भएको हो ।
अलपत्र परेको सडकमा गाडी फसेको छ । तर, यो पहिलो पटक हैन । बारम्बार सडक निर्माणको काम रोकिदाँ वर्षेनी वर्षातको समयमा मालवहाक सवारी फस्ने समस्या हुने गरेको छ ।
पछिल्लो समय पानी परिरहेकोले हरेकदिन मालबाहक ट्रक फस्ने गरेका छन् । हाटखोला–कटहरी सडक खण्डमा सोमबार तीनवटा ट्रक एकै रेखामा एकसाथ खाल्डामा फसेका हुन् ।
वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा तीनवटा लोडेड ट्रकहरू फसेर आवतजावतमा समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अस्तव्यस्त छ । पछिल्लो समय यसको ठेक्का तोडिएको छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम समयमा नै पूरा नगरेपछि ठेक्का तोडिएको थियो । अहिले सडक अलपत्र छ । योजना कार्यालय, इटहरीका प्रमुख पोखरेलले कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको दावी गरेका छन् । एक साता भित्र उक्त खण्डको नयाँ ठेक्का आह्वान गरिने जानकारी दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ठेक्काका लागि सहमति प्राप्त भएर लागत इस्टिमेट पेश भएको जानकारी दिइएको छ । लागत इस्टिमेट स्वीकृत भएपछि यसै साताभित्र नयाँ ठेक्काको सूचना निकालिने भनाई छ । नयाँ सूचनापछि ठेक्का प्रक्रिायमा जान झण्डै तीन महिना लाग्छ । त्यस बाहेक वर्षातमा काम गर्नसक्ने संभावना छैन । यसैले यो सडक यो बर्खामा समेत हिलाम्य हुने निश्चित छ । पूर्वपश्चिम हुलाकी राजमार्गका लागि सरकारले २९ अर्ब बजेट विनियोजन गरेको छ ।