विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी क्षेत्रको जीर्ण सडकको समस्या समाधानको माग गर्दै स्थानीयवासीले आज पनि सडकमा ढाट (बाँस) तेस्र्याएर आवागमन अवरुद्ध गरेका छन् ।

बर्खायाम सुरु भएसँगै सडक हिलाम्मे बनेर सवारी साधन सञ्चालन तथा पैदल यात्रुलाई हिँडडुल गर्न कठिन भएपछि स्थानीय आन्दोलित भएका हुन् । कच्ची सडकलाई शीघ्र कालोपत्रे गर्न माग गर्दै उनीहरूले लामो समयदेखि धर्ना, प्रदर्शन र सडक अवरोधका कार्यक्रम गर्दै आएका छन् । हिजो मात्रै हाटखोला–कटहरी सडकखण्डको एउटै स्थानमा एक ट्याक्टरसहित चारवटा मालवाहक ट्रक सडकमा भासिएपछि यातायात सञ्चालन प्रभावित भएको थियो। त्यस घटनापछि स्थानीयले सडक अवरोध गरेका थिए भने आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
सडकमा बनेका गहिरा खाल्डाखुल्डीका कारण भासिएका सवारी साधन निकाल्न स्थानीयवासी र ट्राफिक प्रहरीले प्रयास गरे पनि सफल हुन सकेका छैनन् । समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउँदै स्थानीयवासी तथा सवारी चालकहरूले सडकमै बाँस तेस्र्याएर अवरोध गरेपछि विराटनगर–रंगेली सडकखण्डमा चल्ने सवारी साधन राम्रोसँग चल्न सकेका छैन् ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङ खण्डको कुल लम्बाइ ४४ किलोमिटर रहेको छ। त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्म करिब ४ किलोमिटर सडक अहिले अत्यन्तै जीर्ण अवस्थामा रहेको छ।

यो सडक निर्माणको ठेक्का २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि, काठमाडौंले पाएको थियो। तर निर्माण कार्य समयमै सम्पन्न नभएपछि ठेक्का सम्झौता रद्द गरिएको थियो। ठेक्का रद्द भएपछि उक्त सडकखण्ड लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। उनले एक साताभित्र नयाँ ठेक्का प्रक्रिया सुरु गरिने जानकारी दिएका छन् । स्थानीयवासी भने तत्काल सडक मर्मत र निर्माण प्रक्रिया अघि नबढाइए आन्दोलनलाई अझ सशक्त बनाउने समेत चेतावनी दिएका छन् ।