विराटनगर । विराटनगरमा ‘पोडवे’ सञ्चालनका लागि ६ अर्ब बढी लगानी प्रस्ताव पेस भएको छ । काठमाण्डौं पोडवे कम्पनी प्रा.लि.ले अमेरिकी डलर ४ करोड ५१ लाख बराबरको लागत अनुमान पेस गरेको हो । लगानीकर्ताले प्रस्ताव पेस गरेसँगै यसलाई परियोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न अनुमति दिएको छ । गतवर्ष कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा यो परियोजना समेत सम्झौता भएको थियो । कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच भएको सम्झौता अनुसार अहिले सडकको राइट अफ वे यकिन गरेर सर्भेको प्रक्रियामा जानसक्ने समेत स्वीकृत प्राप्त भएको दावी गरिएको छ ।
‘पोडवे’ रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नवीन साधन हो । पहिलो चरणमा रानी बसपार्कसम्मको दुरीमा यसको स्थापना गर्ने गरी लगानी प्रस्ताव गरिएको छ । पोडवे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो । रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा लिइन्छ । सरकारले २०८० मङ्सिर ७ मा राजपत्रमा सूचना प्रकाशित गरी पोडवे सेवालाई कानुनी मान्यता दिइसकेको छ ।
लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले प्रािधकरणके ३३ औं बैठकले नेपालमै पहिलो पटक यो परियोजना अगाडी बढ्न लागेको हो । चरणमा सात किलोमिटरमा पोडवे सेवा सञ्चालन गर्न तीनदेखि पाँच अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको थियो । पहिलो पटक विराटनगरको रानी भन्सार कार्यालयदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर दुरीमा पोडवे सेवा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।
यातायात सेवाको चाप बढी भएको क्षेत्रमा यो सेवा सञ्चालन गर्न थप प्रभावकारी बताइन्छ । यो सेवा कोशी प्रदेशका लागि मात्र नभएर देशकै लागि आर्थिक वृद्धि, पर्यटन र पूर्वाधार विकासलाई अगाडि बढाउन सहयोग पुग्ने भनाई छ ।
सडकभन्दा माथि गुड्ने हुनाले ट्राफिक जाम कम हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरण हुने हुँदा निजी क्षेत्रबाट पोडवे सेवा सञ्चालन गर्न उपयुक्त रहेको कोइरालाको भनाई छ । हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालनमा ल्याइसकेका छन् । अमेरिका र भारतमा सञ्चालन हुने क्रममा छ । प्रतिघण्टा १५० किमी चल्ने मेट्रोरेलको जस्तै पोडवेले सुविधा हुनेछ । पोडवे सञ्चालनका लागि छुट्टै ट्र्याकको आवश्यकता पर्छ । स्वचालित प्रविधिमा आधारित भएकाले पनि त्यसका लागि छुट्टै मार्ग निर्माण गर्नुपर्ने हुन्छ ।
पोडवे कृत्रिम बौद्धिकता (एआई) ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुने कम्पनीले जनाएको छ । एउटा विशेष नियन्त्रण कक्षले त्यसको सञ्चालन गर्नेछ । त्यसका लागि हरेक दुई÷दुई किलोमिटरमा पोल निर्माण गर्न सकिन्छ । यात्रु चढाउन र ओराल्न अकासेपुल जस्तै संरचना तयार गर्नुपर्ने हुन्छ ।
केबुलकारमा जस्तै पोडवे स्टेसनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुनेछ । हाल निर्माण भएका सडकको किनारा वा सडकको माथिबाट पोडवे हिँड्ने भएकाले पनि थप सजिलो हुनेछ । पोडवे सञ्चालन गर्दा दुर्घटनाको जोखिम कम हुनाका साथै समयमै सामान ढुवानी हुने तथा एकै पटक सय टन बराबरको सामान एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ । यस प्रकारको यातायात सञ्चालनले बिजुलीको खपत बढाउन सहयोग पु¥याउने छ । बिजुलीबाट चल्ने हुँदा यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पु¥याउन सकिनुका साथै पेट्रोल, डिजेलको खपत पनि कम हुनेछ ।