विराटनगर । गत वर्ष बैशाखमा विराटनगरमा दुईदिन लगानी सम्मेलन चल्यो । त्यसमा देशभरका लगानीकर्तालाई प्रदेश सरकारले निम्त्यायो । कति आए कति आएनन् । तर, ईच्छा राख्नेहरु आए अनि आफ्नो प्रस्ताव प्रस्तुत गरेर लगानी गर्न ईच्छुक रहेको भन्दै सम्मmौता गरेर फर्किए । त्यहि शिलशिलामा काठमाण्डौं पोड वे कम्पनी प्रा.लि.ले विराटनगरमा पोड वे यातायात सञ्चालन गर्ने परियोजना पेस गरेर सम्झौता गरेको थियो ।
त्यो परियोजना जमादर पोड वे हेटौंडासँग मिलेर बनाउने तयारी गरेको थियो । तर, जमादर पोड वे कम्पनीका प्रमुख नै व्यापारका लागि दुबई भासिए । त्यसपछि यो परियोजना अलमलमा परिरहेको थियो । गत भदौमा जेनजी आन्दोलन भयो । त्यसपछि अन्यौलनै रहेका बेला काठमाण्डौं पोड वे आफैं लगानी गर्ने गरी काम थाल्ने निर्णय गरेर पुनः काम थाल्यो । अहिले कानुनी रुपमा रहेका अड्चन पार गर्दै लगानी प्रस्ताव पेस गरेको हो ।
त्यसका आधारमा परियोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको हो । यो योजना विराटनगर महानगरपालिकाको हैन । यो प्रदेश सरकार लगानी प्राधिकरणमार्फत भित्रन लागेको निजी लगानी हो । तर, विराटनगरमा पोड वे भन्ने बित्तिकै धेरैले यो योजना महानगरपालिकाले बढाउन लागेको भन्ने बुझेको देखिन्छ ।
कोशी प्रदेश लगानी प्राधिकरणले कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पोड वे यातायात परियोजना संभाव्यता अध्ययन, निर्माण तथा सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । काठमाण्डौं पोड वे कम्पनी प्रा.लि.ले अमेरिकी डलर चार करोड ५१ लाख रुपिँया अनुमानित लागतसहित प्राधिकरणमा प्रस्ताव पेस गरेको छ । जसलाई अनुमोदन गर्दै बोर्डको ३३ बैठकले डिपिआर अनुमति दिएको लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले जानकारी दिएका हुन् ।
लगानीकर्ता काठमाण्डौं पोड वेका उपाध्यक्ष निल भट्टराईले सार्वजानिक निजी साझेदारी (बुट) मोडलमा यसको लगानी गरिने जानकारी दिएका छन् । लगानी प्राधिकरणले संभाव्यता अध्ययन गर्न दिने निर्णय गरेसँगै आगामी साउनदेखि यसको काम थालिनेछ । त्यसका लागि प्रारम्भिक कार्य थालिएको उनले बताएका छन् । संघीय सरकारले २०८० सालमै पोड वे लाई सार्वजानिक यातायातको कानुनी मान्यता दिइसकेको छ ।
त्यस बाहेक वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यसका लागि लगानीको ढोका खुलेको लगानीकर्ता भट्टराईको भनाई छ । उनले यो नेपालका लागि कम खर्चिलो सार्वजानिक सेवा र किफायती हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले यो कोशी प्रदेशमा विराटनगरदेखि भेडेदारसम्म लैजान सकिने बताए । जसले भारतीय पर्यटकलाई आकर्षण गर्नसक्नेछ । तर, यसमा सरकारी चासो धेरै हुनुपर्ने उनको भनाई छ ।
‘वैदेशिक लगानीको पनि संभावना छ’ भट्टराईले भने–परियोजना विस्तृत संभाव्यता अध्ययन गरेसँगै बाँकी काम हुन्छ । परियोजनाले नाफा हुने वा घाटा हुने कुरा यकिन त्यहिबाट हुनेछ । रेल विभागले समेत काठमाण्डौं उपत्यकाका लागि पोड वे योजना राखेको छ वैकल्पिक सार्वजानिक यातायात भएकोले यसमा सरकारले सम्बोधन गर्ने पाटाहरु क्रमशः सुधार हुँदै गएकोले अझै सहज भएको उनले बताए ।