विराटनगर, असार १२ गते।
मोरङको विराटनगर महानगरपालिकामा मुहर्रम पर्व मनाउने क्रममा बोकिएको एक थान नक्कली हतियार प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आज असार १२ गते साँझ अन्दाजी १८:४५ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. १३ सोमबारे स्थितमा मुस्लिम समुदायहरूले मुहर्रम पर्व मनाइरहेका थिए। सोही क्रममा हतियार जस्तो देखिने वस्तु बोकेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले उक्त नक्कली हतियार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार बरामद गरिएको उक्त नक्कली हतियारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको छ। पर्वको संवेदनशीलता र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ।