विराटनगर । विराटनगर जेसीस ट्रष्टद्धारा संञ्चालित विराटनगर–१३ मा रहेको जेसीबाल सदन स्कुलले पूर्वप्राथमिक तह पूरा गरी आधारभूत तहमा प्रवेश गरेका तथा आधारभूत शिक्षा उत्तीर्ण गरी कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीलाई दीक्षित गर्दै उनीहरूको आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।

विराटनगरको कृष्णपार्टी प्यालेसमा आइतबार आयोजित दीक्षान्त कार्यक्रममा पूर्वप्राथमिक तह उत्तीर्ण गरेका ३४ जना र आधारभूत तह पूरा गरी कक्षा ९ मा प्रवेश गरेका ४४ जना गरी कुल ७८ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको विद्यालयका प्रिन्सिपल तुलसी दुलालले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले दीक्षित विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध र सिकाइप्रतिको उत्साह बढाउने बताए । उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा नभई जीवन उपयोगी सीपसँग जोड्न आवश्यक रहेको पनि उल्लेख गरे ।
विद्यालयका निर्देशक सेवक बजगाईँले एक शैक्षिक चरण पूरा गरेका विद्यार्थीलाई सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले दीक्षान्त कार्यक्रम आयोजना गरिएको बताए। उनले विद्यार्थीलाई अनुशासन, जिम्मेवारी र निरन्तर अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै विद्यालयले व्यावहारिक, गुणस्तरीय र जीवनोपयोगी शिक्षामा विशेष जोड दिँदै आएको जानकारी दिए।

विराटनगर जेसीस ट्रष्ट बोर्ड तथा विद्यालय व्यावस्थापन अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर जेसिसका अध्यक्ष जेसी कविराज दाहाल, विद्यालयका भाइस प्रिन्सिपल नगेन्द्र भट्टराई, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले आयोजना गरेको दीक्षान्त कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति गरेर कार्यक्रमलाई आर्कषण बनाएका थिए ।

