विराटनगर । मुहर्रम पर्वको दिन सामाजिक सञ्जालमा नक्कली हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाएको भिडियो भाइरल भएपछि मोरङ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ९ का २३ वर्षीय मो. ईजराईल रहेको प्रहरीले जनाएको छ ।
गत असार १२ गते मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा ईजराईलले नक्कली हतियार बोकेर हिँडेका थिए । सो क्रममा उनले आम सर्वसाधारणलाई आतंकित बनाएको भिडियो सामाजिक सञ्जालमा व्यापक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनको खोजी कार्य तीव्र पारेको थियो ।
प्रहरीले सुक्ष्म अनुसन्धान र खोजतलास गरी उनलाई सोमबार राति ९ ः ४० बजेको समयमा विराटनगरस्थित आफ्नै घरबाटै उक्त नक्कली हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । चाडपर्व र मेलाको समयमा हतियार देखाएर समाजमा भय पैदा गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । मुहर्रम पर्वमा यसरी हतियार प्रदर्शन गर्नु मुस्लिम धर्ममा नभएको मुस्लिम अगुवाहरुको भनाई छ ।