विराटनगर । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनी सुपरमार्केटका २८ शाखामध्ये २१ शाखा प्रभावित भएका थिए। तीमध्ये १२ शाखामा आगजनी भएर पूर्ण रूपमा क्षति पुगेको थियो भने ९ शाखामा तोडफोड तथा लुटपाट भएको थियो।

घटनापछि बन्द भएका अधिकांश शाखाको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ। भाटभटेनी सुपरमार्केटका अनुसार हालसम्म १६ शाखा पुनः सञ्चालनमा आइसकेका छन् । यसमा क्षति नपुगेका ७ शाखासहित मर्मत तथा सरसफाइ सम्पन्न भएका अन्य शाखाहरू पनि सञ्चालनमा फर्किएका छन्। ।
यसैबीच, आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दैनिक ५ सयभन्दा बढी प्राविधिक तथा कामदार परिचालन गरेर भवन पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

भाटभटेनी प्रालिका अनुसार हालसम्म पुनर्निर्माणको करिब ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। बाँकी संरचनागत तथा आन्तरिक व्यवस्थापनका कामहरू पनि द्रुत गतिमा भइरहेका छन् । सबै काम निर्धारित समयमै सम्पन्न भएमा आगामी असार मसान्त सम्म विराटनगर शाखा पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको कम्पनीले जनाएको छ।

पुनर्निर्माणको जिम्मेवारी भाटभटेनी समूहकै निर्माण कम्पनी स्पार्क कन्स्ट्रक्सन ले लिएको छ। कम्पनीले यसपटक भवनलाई थप सुरक्षित, आधुनिक र व्यवस्थित बनाउने गरी निर्माण कार्य अघि बढाएको जनाएको छ।
आन्दोलनका क्रममा खरानीमा परिणत भए पनि कम्पनीले अझ पहिलेको भन्दा व्यावस्थित आकर्षण र सशक्त ढंगले संचालनमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार विराटनगरको भाटभटेनी अब नयाँ स्वरूपका साथ पुनः ग्राहकको सेवामा फर्किने तयारीमा छ । पुनः सञ्चालनसँगै स्थानीय रोजगारी, व्यापारिक गतिविधि तथा उपभोक्ताको दैनिक किनमेलमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।