सोनु साह
विराटनगर । गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको निरीक्षण भ्रमणपछि फर्किएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओर्लिएका उनी दिनभर गृहमन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षणमा जुटे । त्यसपछि साँझ सुनसरीतर्फ लागेका थिए । आइतबार धरानमा उनले पुराना इष्टमित्रदेखि सेभ घोपाका अभियन्ताहरुसँग घरघरमै पुगेर भेटे । कुनैबेला उनी धरानमा सेभ घोपा अभियानका प्रमुखको रुपमा रहेका थिए ।
शनिबार मात्रै गृहमन्त्री विराटनगर विमानस्थलमा ओर्लिएका थिए । तर, शुक्रबार अपराह्नदेखि गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशमा आकस्मिक छड्के निरीक्षणका लागि आएको भन्ने हल्ला चल्यो । सुरक्षा संयन्त्र नै उक्त चर्चा र हल्लामा अचम्म मात्रै परेन, उनको खोजीमा जुट्यो । झटपट सुरक्षा सतर्कता समेत सहरमा बढायो । तर, राती गृहमन्त्री काठमाण्डौंमै रहेको जानकारी पाएको थियो । शुक्रबारको हल्लालाई विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित समेत गरेका थिए । कतिपयले गृहमन्त्री मोरङ कारागार वा नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणमा आएको अनुमान गरेका थिए। तर, ती सबै चर्चा शुक्रबारका लागि निराधार सावित भए।
विमानस्थलबाट सिधै जिल्ला प्रशासन कार्यालय मोरङमा गृहमन्त्रीले कार्यालय भवनको निरीक्षण गर्दै प्रशासनको नाममा रहेको सरकारी जग्गाको उपयोग, सेवा प्रवाह र कार्यालय व्यवस्थापनबारे जानकारी लिएका थिए । उनले छरिएर रहेका सरकारी सेवाहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न तथा सरकारी सम्पत्तिको प्रभावकारी उपयोग गर्न निर्देशन दिएका थिए । निरीक्षणका क्रममा उनले जिल्ला प्रशासन कार्यालय परिसरभित्र रहेको मन्दिरमा पूजा–अर्चना समेत गरेका थिए ।
त्यसपछि उनी कोशी प्रदेश प्रहरी कार्यालय पुगेर डीआईजी विनोद घिमिरेले प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, विद्यमान सुरक्षा चुनौती तथा प्रहरीको कार्यसम्पादनबारे ब्रिफिङ लिएका थिए । प्रहरी कार्यालयको निरीक्षणपछि गृहमन्त्री गुरुङ नेपाल–भारत सीमा क्षेत्रस्थित रानी नाका पुगेका थिए। सीमा क्षेत्रमा हुने चोरी–पैठारी, अवैध गतिविधि तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै त्यहाँ कार्यरत सुरक्षाकर्मीका समस्या पनि सुनेका थिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल–भारत खुला सीमा क्षेत्र निकै लामो रहेकाले सीमाको प्रभावकारी सुरक्षा चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । सीमामा खटिएका सुरक्षाकर्मीको संख्या र आधुनिक प्रविधि पर्याप्त नभएको स्वीकार गर्दै उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए । सीमा निरीक्षणकै क्रममा उनले एकीकृत जाँच चौकी (आईसीपी) तथा विराटनगर भन्सार कार्यालयको समेत निरीक्षण गेरेका थिए । उनले राजस्व चुहावट नियन्त्रण, अवैध कारोबार रोकथाम तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका थिए । विकास र सुरक्षाको सवालमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।
गृहमन्त्रीले विराटनगर–१८ स्थित ऐतिहासिक विराट राजाको दरबार क्षेत्रको अवलोकन गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङको भवन निरीक्षण गर्दै प्रहरीको भौतिक पूर्वाधार, जनशक्ति तथा सेवा प्रवाहबारे जानकारी लिएका थिए । विराटनगरमा पाँच घण्टासम्म अनरवत उनी गर्मीको वास्ता नगरी कार्यालयहरुमा पुगेका थिए । उनको पाँच घण्टा विराटनगर बसाइको सन्देश भने पछिल्लो समय प्रहरीले लिइरहेको कदमको सम्मानको रुपमा बुझिएको छ ।
करिब पाँच घण्टाको निरीक्षण कार्यक्रम सम्पन्न गरी गृहमन्त्री गुरुङ शनिबार अपराह्न ४ बजे सुनसरीतर्फ प्रस्थान गरेका थिए । गुरुङ आइतबार धनकुटा पुगेका थिए । सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका धनकुटाको भेडेटार आएर बास बसेका थिए ।
धनकुटा आएर धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक निशान मन्दिर परिसरमा आएपछि गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । स्वागतपछि गृहमन्त्री गुरुङले मन्दिरमा दर्शन गरेका थिए ।
मन्दिर दर्शनपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्नुका साथै जिल्लाको शान्तिसुरक्षा, प्रहरीको कार्यसम्पादन र सेवा प्रवाहबारे जानकारी लिए ।
त्यसपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरेका थिए । प्रशासन कार्यालयमा नागरिकलाई उपलब्ध गराइने सेवाको अवस्था, प्रशासनिक कार्यसम्पादन तथा समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिँदै उनले प्रशासनिक संयन्त्रसँग छलफल गरेका थिए ।
निरिक्षण अनुगमनका सार्वजनिक प्रतिक्रिया नदिएका गुरुङले धनकुटा नगरपालिका वडा नं. ५ स्थित पारिवारिक भेटघाट गरेका थिए । त्यसपछि खाना खाएर उनी सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको निरिक्षण गरेका छन ।
त्यपछि ईलाका प्रहरी कार्यलाय धरानको अनुगमन गर्न जाने तालिका रहेको छ । त्यपछिको तालिका सम्बन्धि सुरक्षाकर्मीलाई स्वयम जानकारी नभएको एक सुरक्षाकर्मीले जानकारी दिए । यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गरे पश्चात आईतवार घोपा अनुगमन गर्न पुगेका थिए । गृहमन्त्री गुरुङ र स्वास्थ्य मन्त्री मेहता दुवै जना एकैचोटी घोपा क्याम्पको अनुगमन गरेका छन ।