विराटनगर । विराटनगरमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता फोटोकपी सेन्टरबाट पैसामा बिक्री हुने गरेको खुलेको छ । नागरिकता आवश्यकता पर्ने व्यक्तिहरुको पहिचान गरेर बिना कागजात नै फोटो स्टुडियोबाट जारी गर्ने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ, विराटनगर–५ का धनदेव राजवंशी छन् । पक्राउ परेकामध्ये श्रेष्ठले नागरिकता बनाउने व्यक्तिको पहिचान गरेर पैसाको ड्रिल गर्ने, राजवंशीले फोटो स्टुडियोबाट नागरिकता बनाएर प्रिन्ट गर्ने गरेको खुलेको हो ।
राजबंशीको महेन्द्र चोकमा ‘न्यू डोली फोटो सर्भिसेज’ नामक फोटो स्टुडियो रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता लिएर पुगेकी मनिषा कामतको नागरिकता नक्कली भएपछि यसको रहस्य खुलेको थियो । मनिषालाई नागरिकता बनाइदिने भनेर एकलाख ३० हजार रुपैँया श्रेष्ठले लिएको आरोप छ ।
राष्ट्रिय परिचयपत्र बनाउन नक्कली नागरिकता लिएर पुगेकी मनिषाबाटै नक्कली नागरिकता बनाउने समूहसम्म प्रशासन पुगेको हो । मनिषाले बोकेको नागरिकता नक्कली रहेको सुनेपछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले चासो राखेर गिरोहको खोजीमा जुटेका थिए । त्यसपछि अशोककुमार श्रेष्ठ पक्राउ परे लगतै कसरी बन्थ्यो भन्ने कुरा खुलेको हो । श्रेष्ठलाई पक्राउ गर्दा १० थान नागरिकता फेला समेत फेला परेको बुझिएको छ । श्रेष्ठबाटै नागरिकता लिएका थप दुईजना पनि जिल्ला प्रशासन कार्यालय पुगेर जानकारी गराएका छन् ।
नक्कली नागरिकतामा नेपाल सरकारको होलोग्राम र जारी गर्ने अधिकृतको हस्ताक्षर, प्रशासनको छाप दुरुस्त रहेको छ । नागरिकताको हस्ताक्षरकर्ता प्रशासनकै अधिकृतहरु रहेका छन् । तर, ती सबै नक्कली उतार गरेर राखिएको देखिएको छ । बुधबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयले नक्कली नागरिकता र बरामद कागजातसहित थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले उनीहरुमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।