विराटनगर । किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’ को उपाधि सेन्ट जोसेफ प्लस टुमा अध्ययनरत सापेक्षा श्रेष्ठ ले जितेकी छन् । आइतबार साँझ विराटनगर–२ स्थित आरोहण गुरुकुल, हाटखोलामा सम्पन्न ग्रान्ड फिनालेमा श्रेष्ठले ट्रफीसहित हिमालयन लाइफ इन्स्योरेन्सबाट ३ लाख रुपैयाँ बराबरको जीवन बीमा तथा अन्य आकर्षक पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताको फस्र्ट रनरअप शिक्षादीप कलेजका संगीत गौतम बने। उनले २ लाख रुपैयाँ बराबरको जीवन बीमा सहित ट्रफी र अन्य पुरस्कार प्राप्त गरे। त्यस्तै, सेकेन्ड रनरअप शिक्षादीप कलेजकै आर्या बस्नेत घोषित भइन्। उनले १ लाख रुपैयाँ बराबरको जीवन बीमा सहित ट्रफी तथा अन्य पुरस्कार प्राप्त गरिन्।

१४ देखि १८ वर्ष उमेर समूहका विभिन्न विद्यालय तथा प्लस टुमा अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोगिताको उद्देश्य किशोर–किशोरीहरूमा नेतृत्व क्षमता, अनुशासन, सकारात्मक सोच, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। करिब ४० दिनसम्म सञ्चालन गरिएको आन्तरिक तथा बाह्य प्रशिक्षण पछि उत्कृष्ट प्रतियोगीहरूलाई ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गराइएको थियो। अन्तिम चरणमा संगीत गौतम, सुजाश्वी चापागाईं, रिशान्त घिमिरे, संस्कृती शर्मा, सापेक्षा श्रेष्ठ, संस्कार शर्मा, बादल पासवान र आर्या बस्नेत पुगेका थिए। प्रतियोगितामा ५३ जनाले अडिशन दिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा मोडल शौरभमान भण्डारी, फेसन डिजाइनर संगीता चौधरी, मोडल नवनितराज प्रधान तथा मोडल एवं फेसन डिजाइनर वेनिसा शर्मा कट्टेल रहेका थिए । रोनक फेसन एजेन्सी को आयोजनामा तथा ताज इभेन्ट्स नेपाल को व्यवस्थापनमा सम्पन्न कार्यक्रमको संयोजन पिन्टु सान्याल ले गरेका थिए। व्यवस्थापन टोलीमा निशान कार्की, ऐश्वर्या ढुंगेल, प्रनिशा तिम्सिना र विप्लव प्रधान रहेका थिए।

प्रतियोगिताले किशोर–किशोरीहरूलाई र्याम्पमा सीमित नराखी नेतृत्व, व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुति र सामाजिक उत्तरदायित्वबारे समेत प्रशिक्षण प्रदान गर्दै उनीहरूको समग्र क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको रोनक फेसन एजेन्सीका निर्देशक रोनक अग्रवालले जानकारी दिए । ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’को अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको थियो ।
