विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल नजिक नहर किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हालका लागि नहटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच भएको विस्तृत छलफल र समन्वयपछि बस्ती हटाउने कार्य केही समयका लागि स्थगित गर्ने सहमति भएको हो।
उक्त क्षेत्रमा विगत करिब ४५ वर्षदेखि बसोबास गर्दै आएका करिब ६५ घरधुरी सुकुम्बासी परिवार रहेका छन्। वर्षायामका कारण उत्पन्न हुन सक्ने जोखिम, स्थानीय बासिन्दाको सुरक्षा, मानवीय संवेदनशीलता तथा समग्र परिस्थितिलाई मध्यनजर गर्दै तत्काल बस्ती हटाउने निर्णय स्थगित गरिएको मोरग क्षेत्र नं ६ की सासंद रुविना अर्चायले जनाएकी छिन।
सम्बन्धित निकायका अनुसार वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क संकलन तथा आवश्यक कानुनी प्रक्रिया भने प्रचलित कानुन र स्थापित मापदण्डअनुसार निरन्तर अगाडि बढाइनेछ। यस विषयमा गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समेत आवश्यक छलफल र समन्वय भइरहेको बताइएको छ।
निकायले कुनै पनि निर्णयबाट नागरिकको आधारभूत जीवनमा अनावश्यक कठिनाइ सिर्जना नहोस् भन्ने उद्देश्यका साथ हालका लागि बस्ती हटाउने कार्य रोकिएको स्पष्ट पारेको छ।
साथै कानुनको शासन, मानवीय संवेदनशीलता तथा सबै पक्षको उचित चासोलाई सम्मान गर्दै दीर्घकालीन, न्यायोचित र दिगो समाधानको खोजीका लागि सम्बन्धित निकायहरूबीच समन्वय र संवाद निरन्तर जारी रहने विश्वास व्यक्त गरिएको छ।
यसैबीच स्थानीय बासिन्दा, सञ्चारमाध्यम तथा सरोकारवालालाई अपुष्ट सूचना वा अफवाहमा विश्वास नगरी आधिकारिक जानकारीमात्र विश्वास गर्न आग्रह गरिएको छ। आवश्यक निर्णय तथा थप जानकारी सम्बन्धित निकायबाट उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।
सम्बन्धित निकायले यस प्रक्रियामा सहयोग, संयम र विश्वासका साथ साथ दिने स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सम्पूर्ण सम्बन्धित पक्षप्रति आभारसमेत व्यक्त गरेको छ।