विराटनगर । कोशी प्रदेश सरकारको भविष्यबारे निर्णय लिन बसेको नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्र बैठकले तत्काल कुनै निर्णय नगरी बैठक टुंग्याएको छ। केन्द्रीय नेतृत्वबाट आएको निर्देशनपछि मन्त्री फिर्ता बोलाउने विषयमा निर्णय स्थगित गरिएको हो।
कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको थियो। तर बैठककै क्रममा केन्द्रबाट आएको निर्देशनपछि तत्काल निर्णय नगर्ने सहमति भएको हो। बैठकले प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग थप समन्वय र छलफल गर्ने जिम्मेवारी दिएको छ। केन्द्रबाट औपचारिक निर्णय आएपछि पुनः बैठक बसेर आवश्यक निर्णय गरिने जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दलका नेता उद्धव थापाले एमालेसँगको सहकार्य अब समाप्त भएको स्पष्ट पारे। उनले अब कांग्रेस तीन सम्भावित विकल्पबारे छलफलमा रहेको बताए। उनका अनुसार पहिलो विकल्प एमालेसँग सहकार्यलाई पुनः निरन्तरता दिने प्रयास, दोस्रो नेकपासँग नयाँ समीकरण बनाउने र तेस्रो विपक्षी भूमिकामा बस्ने रहेको छ।
थापाले भने,एमालेसँगको सहकार्य टुटिसकेको छ। अब केन्द्रको निर्णयपछि प्रदेशले आफ्नो धारणा स्पष्ट गर्नेछ। बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत प्रदेशस्तरीय नेताहरूको सहभागिता रहेको थियो।
हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।
केन्द्रीय नेतृत्वको अन्तिम निर्णयपछि कोशी प्रदेश सरकारको समीकरणमा महत्वपूर्ण परिवर्तन आउन सक्ने भएकाले प्रदेशको राजनीतिक गतिविधि थप चासोका साथ हेरिएको छ।