विराटनगर । विराटनगरस्थित श्री सत्यनारायण उच्च माध्यमिक विद्यालयका करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। तेरापन्थ प्रोफेसनल फोरम विराटनगरको आयोजना तथा रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार विद्यालय परिसरमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो।
'मिसन दृष्टि २०२६' अन्तर्गत विश्वका ७५ वटा सहरका एक हजारभन्दा बढी विद्यालयमा सञ्चालन भइरहेको मेगा आई चेकअप क्याम्प अभियानअन्तर्गत सत्यनारायण उच्च माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।



शिविरमा विद्यालयका १ हजार ३९६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको र परीक्षणका क्रममा करिब २५० जना विद्यार्थीमा विभिन्न प्रकारका आँखासम्बन्धी समस्या देखिएको रानी विराटनगर आँखा अस्पतालकी प्रशासन प्रमुख उषा भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार समस्या पहिचान भएका विद्यार्थीलाई आवश्यक थप परीक्षण, उपचार तथा परामर्शका लागि अस्पतालसँग समन्वय गरी सहजीकरण गरिनेछ। विद्यार्थीमा समयमै आँखासम्बन्धी समस्या पहिचान गरी उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले विद्यालय तहमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।