प्रेम देवान
विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको काली मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरी लामो समयदेखि भोगचलन हुँदै आएको घरजग्गा खाली गराइएको छ । मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरी भोगचलन हुँदै आएको विषयमा अदालतमा परेको मुद्दाको प्रक्रिया पूरा भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा बिहीबार बिहान उक्त घरजग्गा खाली गराइएको हो ।

विराटनगर मेनरोडस्थित काली मन्दिरको पश्चिमतर्फ श्रीकाली प्रीतय धर्मशालासँगै रहेको घरजग्गा दुई तहका अदालतबाट मन्दिरकै नाममा हुने फैसला भएपछि खाली गराइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार अदालतको फैसला कार्यान्वयन गर्दै मन्दिरको नाममा रहेको जग्गा अन्य व्यक्तिले प्रयोग गरेको पाइएपछि आवश्यक अदालती प्रक्रिया पूरा गरेर जग्गा मन्दिरलाई हस्तान्तरण गरिएको हो ।

प्रशासनले घरजग्गा खाली गराएपछि उक्त भवनलाई काली मन्दिर व्यवस्थापन समितिले धर्मशालाका रूपमा प्रयोग गर्ने तयारी गरेको छ । काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा.मीनाक्षी नेपालले मन्दिरको स्वामित्वमा आएको उक्त संरचनालाई आवश्यक व्यवस्थापन गरी धर्मशालाका रूपमा सञ्चालन गरिने बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अनुसार फिल्डबुकमा काली मन्दिरकै नाममा रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालतिर भएको सर्भे नापीका क्रममा मन्दिरका तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भई धनीपुर्जा बनेको थियो । मन्दिर व्यवस्थापन समितिले पछि उक्त विषयमा जानकारी पाएपछि जग्गा फिर्ता ल्याउन कानुनी प्रक्रिया अघि बढाएको थियो ।

पुजारी ढकालको निधनपछि उक्त जग्गा उनकी श्रीमती उमादेवी ढकालको नाममा नामसारी गरी बिक्री गर्न खोज्दा जग्गा मन्दिरको नाममा रहेको विषय बाहिर आएको बताइएको छ । त्यसपछि मन्दिर व्यवस्थापन समितिले जग्गा आफ्नो स्वामित्वमा फिर्ता ल्याउन कानुनी उपचार खोजेको थियो ।
लामो समयदेखि विवादमा रहेको जग्गाका सम्बन्धमा अदालतबाट मन्दिरकै पक्षमा फैसला भएपछि अदालती प्रक्रिया पूरा गरी प्रशासनले घरजग्गा खाली गराएको हो ।