विराटनगर । प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित मोरङ प्रहरीले विराटनगरबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–१२ का २१ वर्षीय धनकुमार यादव रहेका छन् । उनलाई विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।
ब्युरोका अनुसार उक्त क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले यादवलाई फेला पारी चेकजाँच गरेको थियो । सो क्रममा उनको साथबाट प्लास्टिकसहित ११० ग्राम र प्लास्टिकबाहेक १०४ ग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
यादवको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त लागुऔषध भारतबाट ल्याएर नेपालमा बिक्री गर्ने गरेको बताएको प्रहरीको भनाइ छ । पक्राउ परेका यादवलाई बरामद लागुऔषध र मोबाइलसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।