विराटनगर । विराटनगर–९ रंगेली रोडस्थित मेरील्याण्ड कलेजले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘कृत्रिम बुद्धिमत्ता र विद्यार्थीको भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार कलेज परिसरमा आयोजित प्रतियोगितामा कक्षा १२ तथा बीबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, यसले शिक्षा क्षेत्रमा पार्न सक्ने प्रभाव तथा विद्यार्थीको भविष्यमा यसको भूमिकाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार विद्यार्थीमा रहेको वक्तृत्वकला, सिर्जनशीलता तथा समसामयिक विषयप्रतिको ज्ञान र बुझाइलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उनले पछिल्लो समय विश्वभर तीव्र रूपमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ताबारे विद्यार्थीलाई जानकारी गराउँदै यसको अवसर र चुनौतीका विषयमा बहस तथा छलफल आवश्यक रहेको बताए ।

प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै प्रविधिको विकाससँगै बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी तयार पार्ने भन्ने विषयमा समेत सोच्न प्रेरित गरेको कलेजले जनाएको छ ।