सोनु साह
विराटनगर । मोरङको रंगेलीमा एउटा यस्तो आपराधिक घटना, जसले जिल्लामात्र होइन, देशभरको ध्यान तानेको छ। पछिल्लो समय आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। तीमध्ये पनि बालिकामाथि भएको यौन हिंसासम्बन्धी यो घटना अत्यन्त गम्भीर र चिन्ताजनक छ।
घटनाको सुरुवात साउन ३ गतेबाट भए पनि करिब एक सातापछि मात्र यसको वास्तविक स्वरूप सार्वजनिक भएको हो। सुरुमा सामान्य हराएको सूचनाका रूपमा रहेको यो घटना अनुसन्धान अघि बढ्दै जाँदा जबरजस्ती करणी र सामूहिक जबरजस्ती करणी जस्ता जघन्य अपराधसँग जोडिएको विषयका रूपमा बाहिर आएको हो।
प्रहरी अनुसन्धानअनुसार, १२ वर्षीया एक बालिका साउन ३ गते रंगेलीस्थित संसारीमाई मन्दिर पुगेकी थिइन्। रंगेली बजार जाने मुख्य सडकको दक्षिणतर्फ रहेको संसारीमाई स्थान धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छ। यहाँ स्थानीय भक्तजनका साथै भारतबाट समेत श्रद्धालु र पर्यटकहरू आउने गर्छन्। मन्दिर परिसरमा तस्बिर खिच्ने क्यामेरामेनहरू पनि नियमित रूपमा बस्ने गरेका छन्। प्रहरी अनुसन्धानका अनुसार घटनाको सुरुवात पनि यही क्षेत्रबाट भएको देखिएको छ।
घटना साउन ३ गते आइतबार
पीडित बालिकाले प्रहरीमा दिएको बयानअनुसार, साउन ३ गते आइतबार बिहान करिब ९ बजे संसारीमाई मन्दिर जाने क्रममा रंगेली नगरपालिका–३ निवासी १८ वर्षीय मोहम्मद अरमानले चलाएको सिटी सफारीमा चढेकी थिइन्। पीडित र अरमानबीच यसअघि नै सामान्य चिनजान थियो ।
दुवै जना संसारीमाई मन्दिर पुगेपछि केही समय मन्दिर परिसरमा घुमफिर गरेका थिए। त्यसपछि अरमानले बालिकालाई खाना खान जाऔँ भन्दै मन्दिरबाट करिब एक सय मिटरको दूरीमा रहेको युमी क्याफेमा लगेका थिए।
क्याफेमा पुगेपछि उनीहरूले सुरुमा चिसो पेय पदार्थ पिएका थिए भने त्यसपछि खाना मगाएका थिए। खाना खाइसकेपछि अरमानले उनलाई बियर पिउन प्रस्ताव गरेका थिए। आफूले बियर नपिउने भन्दै अस्वीकार गरे पनि गिलासमा रहेको पेय पदार्थ पिएपछि शरीर असहज भएको, टाउको दुख्न थालेको र रिङ्गटा लाग्न थालेको उनले बयानमा उल्लेख गरेकी छन्।
बयानअनुसार रात पर्दै गएपछि अरमानले उनलाई क्याफेको पछाडिपट्टि रहेको एउटा सानो कोठामा लगेका थिए। त्यहाँ आफूले प्रतिरोध गर्दै पटक–पटक नगर्न आग्रह गरे पनि अरमानले जबरजस्ती करणी गरेको पीडितको भनाइ छ। पीडितका अनुसार राति करिब १० देखि ११ बजेको बीचमा अरमानले आफूलाई कोठामै छाड्दै “भोलि आएर लैजान्छु” भनेपछि त्यहाँबाट निस्किएका थिए।
त्यसपछि आफू कोठामा एक्लै रहेको अवस्थामा सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ निवासी २१ वर्षीय सुमन कुमार साह कोठामा प्रवेश गरी रातभर आफूमाथि जबरजस्ती करणी गरेको पीडितले प्रहरीसमक्ष बताएकी छिन् । पीडितले घटनाका क्रममा आफ्नो हात बाँधिएको, मुखमा कपडा हालिएको र प्रतिरोध गर्ने वा सहयोगका लागि गुहार माग्ने अवस्था नरहेको बताएकी छन्। आफूले पटक–पटक यस्तो नगर्न आग्रह गरे पनि कसैले आफ्नो आवाज नसुनेको उनले प्रहरीलाई बताएकी छन्।
घटनाको दोस्रो दिन साउन ४ गते सोमबार
पीडित बालिकाका अनुसार, घटनाको भोलिपल्ट अर्थात् साउन ४ गते बिहान युमी क्याफेका सञ्चालक सुमन कुमार साहले उनलाई होटलबाट निस्किन र घर फर्किन भनेका थिए। तर अघिल्लो रात आफूलाई भोलि आएर लैजाने आश्वासन दिएका मोहम्मद अरमानको प्रतीक्षामा उनी बिहानसम्म क्याफे आसपासमै बसेकी थिइन्।
केही समयपछि अरमान त्यहाँ आएका थिए। उनले बालिकालाई ५० रुपैयाँ दिँदै, “तिमी खाजा खाँदै गर, म साथीलाई मन्दिरमा छोडेर आउँछु,” भनेका थिए। त्यसपछि उनी त्यहाँबाट निस्किए पनि पुनः फर्किएनन्। अरमान नफर्किएपछि बालिका साथीको घरमा लुगा लिन गएकी थिइन्। त्यसपछि उनी पुनः संसारीमाई मन्दिर क्षेत्रमा पुगेकी थिइन्। त्यही क्रममा मन्दिर परिसरमा तस्बिर खिच्ने काम गर्ने करण मण्डल (गोलु)सँग उनको चिनजान भएको थियो। पीडितका अनुसार उनले करणलाई आफ्नो तस्बिर खिच्न भनेकी थिइन्। त्यसपछि उनीहरूले केही तस्बिर र पाँचवटा टिकटक भिडियो समेत बनाएका थिए।
पीडितका आफन्तका अनुसार बालिका १२ वर्षकी भएकाले सजिलै अरूको विश्वास गर्ने स्वभाव रहेको उल्लेख गरेकी छन्। उनी आर्थिक रूपमा कमजोर परिवारकी भएकाले राम्रो लुगा लगाउने, तस्बिर खिच्ने र टिकटक बनाउने चाहना राख्थिन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनका सबै चाहना पूरा हुन सकेका थिएनन्।
पीडितका आफन्तको भनाइअनुसार, यही अवस्थाको फाइदा उठाउँदै करण मण्डलले उनीसँग नजिकिने प्रयास गरेका थिए। उनले प्रेम प्रस्ताव राख्नुका साथै राम्रो लुगा किनिदिने, विराटनगरमा काम लगाइदिने र सहयोग गर्ने आश्वासन दिएका थिए। ती आश्वासनपछि बालिका उनीसँग जान तयार भएकी थिइन्।
त्यसपछि करणले उनलाई खाना खान जाऔँ भन्दै संसारीमाई मन्दिरबाट करिब २०० मिटरको दूरीमा रहेको द ९० क्याफेमा लगेका थिए। त्यहाँ उनलाई एउटा कोठामा राखिएको पीडितले बताएकी छन्। उक्त कोठामा करण मण्डल, रंगेली–७ निवासी १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ निवासी १८ वर्षीय रितिक यादवले रातभर पालैपालो आफूमाथि जबरजस्ती करणी गरेको पीडितको आरोप छ । घटनाका क्रममा आफ्नो मुख थुनिएको, हात बाँधिएको तथा आफूले प्रतिरोध गर्दा पेट दुखिरहेको बताएपछि कुन औषधि हो भन्ने थाहा नभएको एउटा औषधि समेत खुवाइएको उनले बयानमा उल्लेख गरेकी छन्।
घटनाको तेस्रो दिन साउन ५ गते मंगलबार
पीडित बालिकाले प्रहरीसमक्ष दिएको बयानअनुसार, घटनाको तेस्रो दिन अर्थात् साउन ५ गते करण मण्डल गोलु ले उनलाई घर फर्किए परिवारले गाली गर्ने र कुटपिट गर्ने भन्दै विराटनगर जान आग्रह गरेका थिए। उनले विराटनगरमा एक महिलाकोमा काम लगाइदिने आश्वासन दिएका थिए।
त्यसपछि गोलुले मलाई बस चढाएर विराटनगर बसपार्क पुर्याएका थिए। त्यहाँ पुगेपछि उनले एक महिलाको जिम्मा लगाउँदै, “अब यही दिदीको घरमा बस्नु, यही होटलमा काम गर्नु, खाना पकाउनु र भाँडा माझ्नु,” भनेका थिए। त्यसपछि गोलु त्यहाँबाट फर्किएका थिए।
महिलाको नाम उल्लेख गरेकी भए पनि अनुसन्धान जारी रहेकाले प्रहरीले उनको परिचय सार्वजनिक गरेको छैन। आफूलाई जिम्मा लगाइएकी ती महिलाले दिनको समयमा होटलमा काम गराउने, बेलुका गीत–संगीत हुने स्थानमा लैजाने र रातिको समयमा विभिन्न होटलमा रहेका ग्राहकसँग बस्न बाध्य पार्ने गरेको उनी बताउँछिन् । आफूले यस्तो काम गर्न नसक्ने र घर फर्काइदिन आग्रह गर्दा गाली गर्ने तथा डर देखाउने गरेकाले बाध्य भएर त्यस्तो अवस्था सहनुपरेको उनले बयानमा उल्लेख गरेकी छन्।
पीडितका अनुसार आफूलाई पटक–पटक सेतो रङको कुनै पाउडर सुँघ्न लगाइने, चुरोट, भोला तथा मदिरा सेवन गर्न बाध्य बनाइने गरिएको थियो। नशाको अवस्थामा पुगेपछि के भइरहेको छ भन्ने बुझ्ने अवस्था नरहने उनको भनाइ छ। उनले दैनिक बेलुका करिब ११ बजेसम्म गीत–संगीत हुने स्थानमा राख्ने र त्यसपछि विभिन्न होटलमा ग्राहकसँग बस्न बाध्य बनाइने गरेको दाबी गरेकी छन्।
विराटनगरमा रहँदा आफूले एकपटक सिटी सफारी चालकको मोबाइलबाट आमालाई फोन गरी “म ठीक छु, चिन्ता नगर्नुहोस्” भनेकी थिइन्। तर त्यो फोन पनि आफूले स्वेच्छाले नभई ती महिलाले गर्न लगाएको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।
उता, पीडितका मामाका अनुसार बालिका सम्पर्कविहीन भएपछि इलाका प्रहरी कार्यालय रंगेलीमा खोजतलासका लागि निवेदन दर्ता गरिएको थियो। यसैबीच सामाजिक सञ्जालमा करण मण्डल गोलु सँग बालिका देखिएको तस्बिर सार्वजनिक भएपछि परिवारले उनीमाथि शंका व्यक्त गर्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको थियो।
परिवारका अनुसार प्रहरीले सोधपुछ गर्न सक्ने जानकारी पाएपछि गोलुले विराटनगरमा रहेकी महिलालाई फोन गरी बालिकाबाट “म सुरक्षित छु, मलाई खोज्न नआउनुहोस्” भन्ने सन्देश परिवारलाई दिन लगाएका थिए। साउन ९ गते बालिकाले फोन गरेको नम्बरमा उनका मामाले सम्पर्क गरेका थिए। त्यसपछि उनी विराटनगर आए। विराटनगर विमानस्थल नजिकबाट बालिकालाई फेला पारिएको थियो। त्यतिबेला उनी नशाको अवस्थामा थिइन् र परिवारलाई समेत चिन्न नसक्ने अवस्थामा रहेको दाबी गरिएको छ। स्थानीयको रोहबरमा पहिचान पुष्टि भएपछि मात्र बालिकालाई परिवारको जिम्मा लगाइएको थियो।
बालिकालाई सोही दिन विराटनगरबाट घर ल्याइएपछि परिवारले घटनाबारे सोधपुछ गरेको थियो। त्यसक्रममा उनले आफूले भोगेका घटनाबारे जानकारी गराएपछि परिवार बालिकालाई लिएर इलाका प्रहरी कार्यालय रंगेली पुगेको थियो। त्यसपछि उनको स्वास्थ्य परीक्षण गराइएको र किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोलु भन्ने आरोपी चाहि विवाहित हुन उनका एउटा बच्चा समेत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरु विरुद्ध जर्बरजस्ती करणी र सामुहिक जर्बरजस्ती करणीमा अनुसन्धान सुरु गरेको हो । प्रहरीले यस बाहेक घटनामा संलग्न रहेका अन्यलाई समेत रहेको बताएको छ ।