चिकित्सक आन्दोलनका कारण कोशी अस्पतालको ओपिडी सेवा ठप्प, हजारौँ बिरामी मर्कामा

<span class='c1'>चिकित्सक आन्दोलनका कारण कोशी अस्पतालको ओपिडी</span> <span class='c2'>सेवा ठप्प, हजारौँ बिरामी मर्कामा</span>

सोनु साह
विराटनगर । चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको देशव्यापी आन्दोलनका कारण मंगलबार विराटनगरस्थित कोशी अस्पतालसहित देशभरका सरकारी तथा निजी अस्पतालहरूको ओपिडी (बहिरङ्ग) सेवा ठप्प भएको छ। आकस्मिक सेवाबाहेक नियमित स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि आएका हजारौँ बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।

कोशी अस्पतालमा दैनिक करिब १ हजार ५ सयदेखि २ हजारसम्म बिरामी ओपिडी सेवा लिन आउने गरेका छन्। विराटनगर र आसपासका जिल्लाका साथै सीमावर्ती भारतबाट समेत बिरामी उपचारका लागि आउने भएकाले सेवा बन्द हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ। अस्पतालमा हप्ताको पाँच दिन ओपिडी सञ्चालन हुने भएकाले सामान्य दिनमै अत्यधिक भिड हुने गर्छ।

नेपाल चिकित्सक संघको आह्वानमा सेवा बन्द गरिएपछि बिहानैदेखि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्त ओपिडी टिकटसमेत नपाएर अलपत्र परेका थिए। अस्पतालको टिकट काउन्टरमा ‘ओपिडी सेवा बन्द’ सम्बन्धी सूचना टाँसिएको थियो।

चिकित्सकहरू वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राम माथि भएको कुटपिटको विरोधमा आन्दोलनमा उत्रिएका हुन्। दोषीलाई तत्काल पक्राउ गरी चिकित्सकको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग राख्दै उनीहरूले आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरेका छन्।


स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन। फलस्वरूप कोशी अस्पतालजस्ता ठूला सरकारी अस्पतालमा समेत ओपिडी सेवा पूर्ण रूपमा बन्द रहँदा टाढा–टाढाबाट आएका बिरामी सबैभन्दा बढी प्रभावित बने।

कोशी अस्पतालमा उत्पन्न अवस्था र सेवा बन्दबारे प्रतिक्रिया लिन खोज्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झा ले यस विषयमा बोल्न अस्वीकार गर्दै सूचना अधिकारीसँग बुझ्न आग्रह गरे।

अस्पतालका सूचना अधिकारी नवराज लुईटेलले यो नेपाल चिकित्सक संघको देशव्यापी आन्दोलन भएकाले कोशी अस्पतालमा पनि त्यसको प्रभाव परेको बताए।

उनले भने, “देशभर चिकित्सकहरूको आन्दोलन भएकाले आज ओपिडी सेवा बन्द गरिएको हो। यसले बिरामीहरूलाई निकै मर्का परेको छ। अहिले सम्बन्धित पक्षबीच वार्ता भइरहेको भन्ने जानकारी आएको छ। वार्ता सफल भए भोलिदेखि सेवा पुनः सञ्चालन हुन सक्छ। यदि आन्दोलन लम्बियो भने बिरामीले अझ बढी सास्ती व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।”

आन्दोलनरत चिकित्सकहरूले भने चिकित्सकमाथि भएको आक्रमणको घटनामा दोषीलाई अझै पक्राउ नगरिएको भन्दै सुरक्षाको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

चिकित्सकको आन्दोलन र स्वास्थ्य सेवा अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर उपचारका लागि अस्पताल पुगेका सर्वसाधारणमाथि परेको छ। बिरामी तथा आफन्तहरूले यथाशीघ्र वार्तामार्फत समस्या समाधान गरी नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्