सद्भाव जोगाऊँ, शान्ति खोजौं

<span class='c1'>सद्भाव जोगाऊँ,</span> <span class='c2'>शान्ति खोजौं</span>

नेपाल भू–बनोटको हिसाबले हिमाल, पहाड र तराईको भौगोलिक पहिचान भएको शान्तिभूमि हो । भूगोलले मात्र शान्ति छैन, विविध धर्म, भाषा, संस्कृति र समुदायबीचको सहअस्तित्वको लामो परम्पराबाट निर्माण उन्नत समाज पनि छ । हाम्रा आ–आफ्ना धर्मसंस्कृति र परम्पराले अनेक राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र सामाजिक चुनौतीमा समेत एकमा अर्को सहयोगी बन्ने मान्यता राख्दै आएको छ । यो कायम रहेको परम्परा नै एकताबद्ध समाजको अमृत हो । जुन अमृत हामीले पान गरिरहेका थियौं, त्यसले हाम्रा मानसिकताहरुलाई सहिष्णु बनाइरहेको थियो । अर्थात्, नेपालीपन भनेको धार्मिक सहिष्णुता र एकताबाट तयार भएको कसिलो सम्बन्धमा रुपान्तरित थियो ।

पछिल्ला केही दिनयता सुनसरीमा देखिएको धार्मिक संवेदनशीलताले हामी सामु गम्भीर प्रश्न उब्जाएको छ । यसरी उब्जिएको प्रश्न, राज्य वा कुनै धार्मिक समुदायसँग मात्रै सोधिनेमा पर्दैन, हामी प्रत्येक नेपालीको जवाफको प्रतिक्षामा उभिएको छ । किन की असहमतिलाई संवादबाट समाधान गर्ने समाजको सोच राख्ने कि उत्तेजना र अविश्वासको बाटो रोज्ने ? भन्ने विषय समसामयिक परिवेशमा सिर्जित भएको छ । लोकतान्त्रिक समाजमा कानूनभन्दा माथि कोही हुँदैन। यदि कुनै व्यक्ति वा समूहबाट कानूनविपरीत कार्य भएको छ भने त्यसको आफ्नै परिधीबाट निराकरण अनिवार्य छ। तर, एउटा घटनालाई आधार बनाएर सम्पूर्ण धर्म, समुदाय वा आस्था विभाजित बनेर एकले अर्कोमाथि दोषारोपण गर्नु सामाजिक न्यायको सिद्धान्त भित्र पर्दैन । यो त सामाजिक शान्तिमाथिको आक्रमण मात्रै हुन्छ ।

अहिले जे भइरहेको छ, यसले पु¥याईरहेको क्षति घटनाबाट नभई प्रतिक्रियाबाट पुगिरहेको छ । अफवाह, अपुष्ट सूचना, उत्तेजक भाषण र सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्री नेपाली समाजका लागि विष बनिरहेको छ । जुन परम्परागत रुपमा एकताको अमृतपान गरिरहेका हामीलाई सुस्तरी सिद्धयाउनउन्मुख छ । वर्षौँदेखि निर्माण भएको विश्वास भत्काइरहेको छ । समाजमा सत्यभन्दा झुटले उछिन्न प्रतिस्पर्धा चलिरहेको छ । धार्मिक वा साम्प्रदायिक तनावमा अन्ततः कसैले जित्दैन। सत्य यो हो, इतिहासले हामीलाई यसरी जित्न पनि कहिल्यै सिकाएको छैन । वर्तमान हाम्रो समुन्नत सोचसँग नजिक हुनुपर्दछ । जसले कयौं वर्षदेखिको विश्वास जोगाउनु उत्तरदायि बनाउँछ । हामीसँग आसा गर्ने र दोष थोपर्ने दुवै राज्य छ । तर, दोष अस्थायी हुन्छ र आसा स्थायी हुन्छ । यहाँनेर राज्यको भूमिका केवल सुरक्षा व्यवस्था मिलाउनेमा सीमित हुनु हुँदैथ्यो। सबै समुदायमा न्यायको अनुभूति दिलाउने दायित्व सरकारको हुन्छ । सुनसरीमा पहिलो जुन घटना भएको छ, त्यो घटनाको सन्दर्भमा राज्यले निष्पक्षताको सन्देश दिननसक्नु कमजोरी हुनसक्छ । तर, आसा त सधैं जागृत हुन्छ ।

राजनीतिक दलहरूको पनि अहिले महत्वपूर्ण भूमिका हुन्छ । समाज बचाउन सक्दा मात्रै राजनीति पनि बच्छ । यो अवस्थालाई क्षणिक राजनीतिक लाभको साधन बनाउने प्रलोभन कसैले र कुनैपनि तरिकाबाट गर्नुुहुन्न । त्यसमा पनि सत्तापक्षीय दलका नेताहरुको भूमिका चित्त बुझ्दो नहुनु दुखद्पूर्ण छ । त्यसलाई त्रुटीको रुपमा बुझौं र सच्याऊँ । धार्मिक भावना नागरिकको मर्म हो तर सामाजिक सद्भाव राज्यको आत्मा । संवेदनशील विषयमा मतको गणित सम्झनु लोकतान्त्रिक संस्कृतिका लागि घातक हुन्छ। त्यस बाहेक उतिकै जिम्मेवारी धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यम पनि छ । शान्ति निर्माण गर्ने की द्वन्द्वलाई चर्काउने सञ्चारमाध्यम र त्यसमा आवद्ध सञ्चारकर्मीले सबैभन्दा बढी सोच्नुपर्दछ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने अधिकार दिएको छ । संविधानले अरूको अधिकारको सम्मान गर्न पनि उत्तिकै स्पष्टसँग सिकाएको छ । आस्था जोगाउने नाममा अरूको सम्मान गुमाउनु वा आफ्नो विचार व्यक्त गर्ने नाममा अर्को समुदायको अस्तित्वमाथि प्रहार गर्नु सबैभन्दा घातक हुनेछ । त्यसैले सुनसरीको घटनाबाट हामीले सिक्ने हो, सिको गर्ने हैन । सामाजिक सद्भाव अस्थायी हुँदैन, यो जीवनभरका लागि समाज जोगाउने विवेक हो । त्यसैले क्रोधलाई विवेकले, अफवाहलाई सत्यले र विभाजनलाई संवादले प्रतिस्थापन गर्न सबै सचेत बनौं । कुनै समुदायको जित वा हारको दृष्टिकोणले होइन, समग्र राष्ट्रिय एकता सकारात्मक सन्देशले मात्रै नेपाली हुनुको गौरववोध हुनेछ । हामी शक्ति विविधतामा र सत्य शान्तिमा खोज्न बानिपरेका छौं । त्यसैले समाजलाई शान्तिमा बाधौं, धर्मलाई सहिष्णुतामा कसौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्