विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनावका कारण मंगलबार दिनभर प्रभावित बनेको विराटनगरको जनजीवन साँझदेखि क्रमश सामान्य बन्दै गएको छ।
मंगलबार बिहानदेखि हिन्दुवादी समूहले आह्वान गरेको विराटनगर बन्दका कारण मुख्य बजार क्षेत्रका अधिकांश पसल, व्यापार व्यवसाय तथा शैक्षिक संस्था बन्द रहेका थिए। दिनभर सुनसान देखिएको बजार क्षेत्रमा साँझपख भने विस्तारै पसलहरू खुल्न थालेका छन्। सर्वसाधारण पनि आवश्यक सामग्री खरिद गर्न तथा दैनिक कामकाजका लागि बजारतर्फ निस्कन थालेसँगै जनजीवन सामान्य लयमा फर्किन थालेको देखिएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवादपछि अवस्था हिंसात्मक बनेको थियो। उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। त्यसपछि सोमबारदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन सुरु भएको थियो। विराटनगरमा पनि सोमबार प्रदर्शन भएको थियो भने मंगलबार दिनभर बन्दको प्रभाव परेको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले विराटनगरको अवस्था अहिले सामान्य बन्दै गएको जानकारी दिए। उनले मंगलबार दिनभर विराटनगरको शान्ति–सुरक्षाको अवस्था सामान्य र नियन्त्रणमै रहेको जानकारी दिँदै प्रशासनले सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै परिस्थितिको निरन्तर निगरानी गरिरहेको बताए।