विराटनगर। नेपाल युवा उद्यमी मञ्च विराटनगरको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो।
साधारणसभाबाट रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको नयाँ अध्यक्षमा चयन भएका छन्। नयाँ नेतृत्वले युवा उद्यमशीलता प्रवर्द्धन, व्यवसायिक क्षमता विकास र युवा पुस्तालाई उद्यमतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली रहेका थिए। उनले युवा उद्यमीहरूको भूमिका आर्थिक विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। नेपाल युवा उद्यमी मञ्च विराटनगरले विगतदेखि नै युवाहरूमा उद्यमशीलताको विकास, नेतृत्व क्षमता अभिवृद्धि र व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२२औँ साधारणसभाले संस्थाको आगामी यात्रा थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। नयाँ नेतृत्वसँगै नेपाल युवा उद्यमी मञ्च विराटनगरले युवा उद्यमी निर्माण र नवप्रवर्तनलाई प्राथमिकतामा राख्ने जनाएको छ।