विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाका सन्दर्भमा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ।
गृह मन्त्रालय र मृतकका अभिभावकहरूबीच भएको वार्तामा पीडितका माग सम्बोधन गर्ने लिखित सम्झौता भएपछि आन्दोलनरत पक्ष अन्तिम संस्कारका लागि तयार भएको हो। गृहमन्त्री सुधन गुरुङ्गको उपस्थितिमा भएको सम्झौता अनुसार घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अगाडि बढाउने भएको छ। साथै, मृतकका परिवारलाई सरकारका तर्फबाट राहत स्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइने सहमति भएको छ।
सम्झौता पत्रमार्फत साउन १० गते राति भएको उक्त घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ। त्यसैगरी, स्थानीयस्तरमा विवादको केन्द्र बनेको देवानगञ्ज–३ स्थित मदरसाको कानूनी हैसियत र सम्बन्धित विषयहरूमाथि पनि तत्काल छानबिन सुरु गरिने भएको छ।

पीडित परिवारलाई थप राहत पुऱ्याउने उद्देश्यले प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र स्थानीय सरकारसँगको समन्वयमा मृतकद्वयको स्मृतिमा उपयुक्त स्थानमा पार्क निर्माण गर्ने सहमति समेत भएको छ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई कानून बमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने बुँदामा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
यो सहमतिसँगै विगत केही दिनदेखि तनावग्रस्त बनेको देवानगञ्ज क्षेत्रमा स्थिति सामान्य बन्ने अपेक्षा गरिएको छ। सहमति भएपछि पीडित पक्षले मृतकद्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे गर्ने निर्णय गरेको छ।
सम्झौता पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ्ग र पीडित पक्षका तर्फबाट अभिभावक नरेश मेहता लगायतले हस्ताक्षर गरेका छन् । गुरुङ अहिले सुनसरीमै छन् ।