गृहमन्त्रीको सक्रियतापछि सुनसरी सहित तराईमा सामान्य बन्दै जनजीवन

<span class='c1'>गृहमन्त्रीको सक्रियतापछि सुनसरी सहित</span> <span class='c2'>तराईमा सामान्य बन्दै जनजीवन</span>

सोनु साह
विराटनगर ।
विगत केही दिनदेखि अशान्त बनेको सुनसरी, मोरङसहित तराईका विभिन्न जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावले तराईका विभिन्न जिल्लालाई प्रभावित बनाएको थियो। अहिले भने प्रशासन, सुरक्षा निकाय र सरकारको सक्रिय पहलपछि अवस्था क्रमशः सहज बन्दै गएको छ।

घटनाको सुरुवात डिजे बजाउने विषयलाई लिएर आइतबार राति दुई समुदायबीच भएको सामान्य विवादबाट भएको थियो। सामान्य भनिएको विवाद केही समयमै उग्र बन्दै गएपछि स्थानीय क्षेत्रमा तनाव फैलिएको थियो। त्यसको भोलिपल्ट अर्थात् सोमबार बिहानदेखि सुनसरी, मोरङ, सिरहा, धनुषा र पर्सालगायतका जिल्लामा विरोध प्रदर्शन सुरु भएको थियो।

तनाव बढ्दै गएपछि सुनसरीसहित सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बीच पनि केही स्थानमा प्रदर्शन जारी रहँदा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

सुनसरीको घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घटनाका क्रममा गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि आन्दोलन झन् चर्किँदै गएको थियो। उता सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको थियो।

स्थिति सुरक्षा निकायको नियन्त्रणभन्दा बाहिर जान थालेपछि बिहीबार साँझ गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता घटनास्थलतर्फ पुगेका थिए। विराटनगर आइपुगेलगत्तै गृहमन्त्री गुरुङले उपचाररत घाइतेहरूको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि उनी सुरक्षा अधिकारीहरूको टोलीसहित देवानगञ्जको कप्तानगञ्ज पुगेर मृतकका परिवारसँग भेटघाट तथा छलफलमा सहभागी भएका थिए।

राति करिब १ बजेसम्म चलेको करिब दुई घण्टाको छलफलपछि सरकार र मृतक परिवारबीच सातबुँदे सहमति भएको थियो। सहमतिपछि मृतकका परिवारले शव बुझ्न सहमति जनाएका थिए।

सहमतिपश्चात शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम सम्पन्न गरी सुरक्षाकर्मीको रोहवरमा शवलाई नगर परिक्रमा गराउँदै देवानगञ्जको कप्तानगञ्ज लगिएको थियो। शुक्रबार राति करिब ११ बजे दुवै मृतकको अन्त्येष्टि सम्पन्न गरिएको थियो।

यही क्रममा गृहमन्त्री गुरुङले शुक्रबार नै केही सांसदसहित सिरहा पुगेर त्यहाँ गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग पनि भेटवार्ता गरेका थिए। त्यहाँ पनि सरकार र मृतक परिवारबीच सातबुँदे सहमति भएको थियो। सहमतिअनुसार मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने विषय समेटिएको छ।

गृहमन्त्री गुरुङको दुई दिन र दुई रातको निरन्तर दौडधुप, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा समुदायका अगुवाबीच भएको समन्वयपछि तराईका विभिन्न जिल्लामा फैलिएको तनाव क्रमशः कम हुँदै गएको छ। यससँगै केही जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ भने आवश्यक स्थानमा निषेधाज्ञा भने यथावत् राखिएको छ।

विराटनगरसहित प्रमुख सहरहरूमा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ। बजार, यातायात तथा दैनिक गतिविधिमा पुनः चहलपहल देखिन थालेको छ भने सर्वसाधारणको मनमा रहेको त्रास पनि बिस्तारै कम हुँदै गएको स्थानीयहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्